कास्कीमा ६१ प्रतिशत मत खसेको अनुमान, मतपेटिका संकलन जारी 

Share:

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर दुईमा भएको मतदानमा ६१ प्रतिशत मत खसेको अनुमान गरिएको छ । मतदानको निर्धारित समय साँझ ५ बजेसम्म ६१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

उनका अनुसार यकिन प्रतिशत आउन अझै एक घण्टा समय लाग्नेछ । अहिले मतपेटिका सहिद चोकस्थित जिल्ला समन्वय समिति, कास्कीमा पुर्याउने क्रम जारी छ । मतदानका लागि कास्की निर्वाचन क्षेत्र नम्बर २ मा ३२ मतदान स्थल र ८२ मतदान केन्द्र तोकिएको थियो।

उपनिर्वाचनका लागि कास्की–२ मा ७१ हजार ८ सय ७१ मतदाता छन् । यो क्षेत्रमा पुरुष भन्दा महिला मतदाताको संख्या धेरै छ । कास्की–२ मा ३३ हजार एक सय ६ जना पुरुष र ३८ हजार ७ सय ६४ महिला र एकजना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

कास्की २ बाट निर्वाचित तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उडडयन रवीन्द्र अधिकारीको गएको फागुनमा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि यो क्षेत्र रिक्त छ । उनकै उत्तराधिकारी चयनका लागि आज मतदान भएको हो ।

४ ठाउँमा बम विस्फोट !

शनिबार पोखराका विभिन्न मतदान केन्द्रहरुमा बम विस्फोटका घटना भएका थिए । पोखरा १६ को शान्ती मावि मतदान स्थल र चण्डिका आधारभूत मतदान स्थल, पोखरा ३३ को सरस्वती टिका मावि मतदान, पोखरा ९ को नवप्रभात मावि मतदान स्थल नजिकै बम विस्फोट भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: