
पोखरा । १३ औं दक्षिण एसियायी खेलकुद साग अन्तर्गत महिला क्रिकेटमा नेपाल बङ्लादेशसङ्ग पराजित भएको छ । बुधबार पोखरा क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको हो । नेपालको हारमा नेपालका प्रशिक्षक जगत टमाटाले नेपाली अग्रपङ्क्तिले राम्रो सुरुवात गर्न नसक्दा हार व्यहोरेको प्रतिक्रिया जनाएका छन् । खेल पछि बिगखबरकर्मी अनिष भट्टराईले प्रशिक्षक जगत टमटासँग हारका कारण बारे सोधेका छन् ।
हारको कारण
आजको खेलमा टस निकै महत्वपूर्ण रहेको थियो । हामीले टस हा¥यौँँ र हामी ब्याटिङमा झर्नु प¥यो । बिहानीको समय भएका कारण मैदान चिसो पनि रहेको थियो । उनीहरुको टोली अनुभवी थियो । विश्वकप खेलेको टोली हो ।
हामीले अनुभव पाएका छौँ । हाम्रा खेलाडीले सिक्ने मौका पाएका छन् । अग्रपङ्क्ति नै कमजोर बनिदियो र खेलाडीको मनोबलमा केही गिरावट आयो । बोर्डमा ५० रनमात्र जोड्न सकेपछि बलरहरुको मनोबलमा पनि कमी आयो ।
व्याटिङ नचल्नुको कारण
बिहानका मोसमका कारण मैदान पनि चिसो थियो, मैदान सुख्खा भएको भए अवस्था भिन्न हुन्थ्यो । चिसो मैदान र पिचका कारण बलिङ र ब्याटिङ दुवैलाई घाटा थियो ।
सुरुमा बलको बाउन्स पनि बढी भएका कारण हामीलाई बढी घाटा थियो । पछि बङ्लादेशले सुख्खा पिचमा ब्याटिङ पायो र उनीहरुले त्यसको फाइदा पनि उठाए ।
‘अन्तिमसम्म टिक्दा पनि रन धेरै बनाउन सकेनौँ’
हामीले आज ब्याटिङ निकै गाह्रो अवस्थामा गर्नू प¥यो । तापनि हामीले १९.२ ओभरसम्म ब्याटिङ ग¥यौँँ । रन धेरै बन्न सकेन । आज हामीले अग्रपङक्ति पनि बदलाव गरेका थियौँ । त्यसले पनि हाम्रो अग्रपङ्क्तिमा समस्या ल्यायो ।
आज हामीले १०० जति स्कोर गराउन सकेको भए हाम्रो अवस्था अर्कै हुने थियो । आजको खेल पछि हामीले अर्को खेलमा अझ बढी आत्मबलले खेल्नु अति आवश्यक रहेको छ ।
आगामी खेलमा गर्नुपर्ने सुधारहरु
हाम्रो आगामी खेल श्रीलंकासँग रहेको छ । यो खेल हाम्रो लागि फाईनल जस्तै रहेको छ । हाम्रो लागि अझै मौका रहेको छ । अर्को खेलमा हामीले ३ वटै पक्षहरु : बलिङ, ब्याटिङ र फिल्डिङमा सुधार गर्नुपर्ने छ ।
श्रीलंकासँग खेल्दा एउटामा मात्र सुधार गरेर हुँदैन, हामीले कडा टक्कर दिनका लागि सबै पक्षमा सुधार गर्नुपर्ने छ ।
