
काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताको अन्तिम दिन आज पाँच खेलमा प्रतिष्पर्धा हुँदैछ। फूटबल, बक्सिङ, बास्केटबल, स्क्वास र जुडोका खेलहरु हुनेछन्। पुरुष फुटबलको स्वर्णपदकका लागि नेपाल र भुटानबीच प्रतिष्पर्धा हुनेछ।
यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं सागको समापन समारोहलाई आज (मङ्गलबार) भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने भएका छन्।
अस्वस्थताका कारण समापन समारोहस्थल दशरथ रङ्गशाला नआइकन प्रधानमन्त्री निवासबाटै भिडियो कन्फ्रेन्समार्फत समापन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय खेलकूद परिषद् (राखेप) तथा १३औँ दक्षिण एशियाली खेलकूद (साग) मूल आयोजक कमिटीका सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिएका छन् । उनका अनुसार प्रधानमन्त्रीले बुधबार खेलकूदलाई मात्र समेटेर राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी रहेको छ । खेलाडीका लागि अहिलेसम्मकै ठूलो प्याकेज घोषणा हुने उनले जानकारी दिए ।
पदकधारी खेलाडीलाई दिइने पुरस्कार तथा अन्य सुविधाबारे प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको सिलवालको भनाइ छ। उनले साग आयोजनाबाट आफू पूर्णरुपमा सन्तुष्ट रहेको र मूल्याङ्कन गर्ने जिम्मा अरुको भएको बताए। सदस्य सचिव सिलवालले दैनिक ‘सेफ दि मिसन’को बैठक बस्ने गरेको र बैठकमा साग अहिलेसम्मकै भव्य र सफल आयोजना भएको चर्चा हुने गरेको उल्लेख गरे।
मङ्सिर १५ गतेदेखि शुरु भएको १३औँ सागको मङ्गलबार समापन हुँदैछ। उनले पूर्वराष्ट्रिय खेलाडी, अन्य खेलका अन्तरराष्ट्रिय पदकधारी खेलाडी, जारी सागका पदकधारी खेलाडी तथा प्रशिक्षकलगायतका लागि रङ्गशालामा सम्मानजनक प्रवेश र बस्ने व्यवस्था गरिने बताए।
दिउँसो १२ बजे सांसद ११ र कर्मचारी ११ बीच मैत्रीपूर्ण फुटबल हुनेछ। समापन समारोह झण्डै डेढ घण्टाको हुने जनाइएको छ ।
समापन समारोहलाई प्रमुख अतिथि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, दक्षिण एशिया ओलम्पिक काउन्सिल तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र सदस्य सचिव सिलवालले सम्बोधन गर्ने कार्यक्रम छ।
समारोहमा आगामी १४औँ साग संस्करणको आयोजक पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिनेछ। १४औं साग पाकिस्तान गर्ने निर्णय भइसकेको छ । पाकिस्तानले २ वर्ष्भित्र प्रतियोगिता आयोजना गर्ने गरी झण्डा लिन लागेको हो ।
उद्घाटनमा जसरी नै समापन समारोहमा पनि झण्डासहित मार्चपास हुने छ । मार्चपासपछि आतिसबाजीसहित प्रतियोगिता सम्पन्न हुने छ ।समापनको संघारमा आइपुग्दा भारत १ सय ७२ स्वर्ण सहित पदक तालिकामा अगाडी छ । आयोजक नेपाल ४९ पदक सहित दोस्रो स्थानमा छ ।
