
काठमाडौं- देशभरको तापक्रम क्रमश: घट्दो अवस्थामा रहँदा चिसो बढ्दै गएको छ । यो क्रम अझै जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबारबाट नेपालमा पश्चिमी वायुको प्रणाली प्रवेश गर्ने भएकाले चिसो बढ्नुका साथै हिमाली क्षेत्रमा हिमपात तथा पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यही पश्चिमी वायुकै कारण तापमानमा पनि गिरावट आउने महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा बुधबार साँझसम्ममा प्रवेश गर्ने देखिन्छ ।
यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना छ । यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना छ ।’
