
पोखरा । करिब ८ वर्ष पहिले शुरु भएको नेपाल लिटरेचर फेस्टिबल (साहित्य महोत्सव) को ८ औं संस्करण केही दिनमा पोखरामा सुरु हँदैछ । बुकवर्म फाउण्डेसनको आयोजनामा हँदै आएको महोत्सव सुरुआतको चार वर्ष काठमाडौंमा भएको थियो ।
वि.सं २०७२ मा भूकम्प गएपछि महोत्सवका लागि काठमाडौंको विकल्प खोजियो । सहित्यको उर्वर भूमि मानिने पोखरा महोत्सवका लागि काठमाडौंको विकल्प बन्यो । त्यसयता सो महोत्सव पोखरामा हँदै आएको छ ।
मंसिर २७ गते शुक्रबारदेखि सुरु हुने महोत्सवका लागि तयारी अन्तिम चरणमा पुगेको छ । फेवा किनार बाराहीघाटमा हुने महोत्सवले मंसिर ३० गतेसम्म पोखरालाई साहित्यमय बनाउने छ ।
सधैं एउटै अनुहार दोहोरियो भन्ने गुनासो सुनिरहेको आयोजकले यसपटक भने फरक अनुहारलाई प्रस्तुत गर्ने दाबी गरेको छ ।
आयोजक बुकवर्म फाउन्डेसन र ¥यान्डम रिडर्स सोसाइटीले मंगलबार आयाजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बुकवर्म फाउन्डेसनका निर्देशक अजीत बरालले यसपटक ९५ प्रतिशत अनुहार नयाँ हुने बताए ।
उनले भने, ‘विभिन्न माध्यमबाट हामीलाई महोत्सवमा सधैं एउटै अनुहार भयो भन्ने गुनासो आयो । यसपटक त्यस्तो हँदैन, हामीले ९५ प्रतिशत नयाँ अनुहार ल्याउने छौं ।’ उनले साहित्य महोत्सवलाई पोखराकै महोत्सवको रुपमा परिभाषित गरे ।
‘भूकम्प र नाकाबन्दीका बेला हामीले काठमाडौंमा हँदै आएको महोत्सवलाई पोखरा ल्यायौँ र अहिलेसम्म पनि निरनतरता दिइरहेका छौं,’ उनले थपे, ‘अब महोत्सव गर्ने हो भने पोखरामा मात्र गरिराख्छौं, यो पोखराकै महोत्सव हो ।’
पत्रकार सम्मेलनमा बोल्दै ¥याण्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले साहित्य महोत्सवको आउँदो संस्करणमा २० प्रतिशत वक्ता पोखरेली रहने जानकारी दिए । उनले महोत्सवले पोखराको साहित्य क्षेत्र प्रवर्धनमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
महोत्सवमा १ सय १० भन्दा बढी लेखक, साहित्यकार, पत्रकारलगायत सहभागी हुने आयोजकले जनाएको छ । यस्तै महोत्सवमा विभिन्न देशका एक दर्जनभन्दा बढी लेखक सहभागि हुनेछन् ।
विभिन्न विषयमा केन्द्रित रहेर हुने छलफलमा ३५ सेसन समावेश गरिएको निर्देशक बरालले जानकारी दिए । कार्यक्रम सम्पन्न गर्न आइएमई ग्रुपले प्रायोजकको रुपमा साथ दिएको छ ।
डीएससी पुरस्कार प्रदान गरिने
यस वर्ष महोत्सवमा दक्षिण एसियाको सर्वोत्कृष्ट साहित्यीक पुरस्कार डीएससी प्रदान गरिने भएको छ । २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) राशि बराबरको पुरस्कार पोखराबाटै प्रदान गरिने बुकवर्म फाउन्डेसनका निर्देशक अजीत बरालले जानकारी दिए ।
दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले गएको ८ वर्षदेखि यो पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारकी सहसंस्थापक सुरिना नरुलाले पोखरामा हुने महोत्सवसँग सहकार्य गरेर पुरस्कार वितरण गर्न पाउँदा खुसी लागेको बताएकी छन् ।
पुरस्कार र महोत्सव दुवैले दक्षिण एसियाली साहित्यलाई प्रर्वद्धन गर्ने र यसले दुवैलाई फाइदा हुने उनको विश्वास छ ।
महोत्सवको उद्घाटन शुक्रबार बिहान ११ बजे हुनेछ । उद्घाटन सत्रमा पूर्व अर्थमन्त्री एवं नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेको विद्वत्प्रवचन रहने आयोजकले जनाएको छ ।
