देशभर चिसो बढ्यो : पहाडमा वर्षा, हिमालमा हिमपात

Share:

काठमाडौं । पश्चिमी वायुको प्रभावले चिसो बढेसँगै काठमाडौं लगायत देशैभरको जनजीवन प्रभावित भएको छ । आज बिहानैदेखि काठमाडौं, पोखरालगायत पहाडी क्षेत्रमा पानी परिरहेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ परिरहेको छ।

अफगानिस्तान र इरानमा बन्ने न्यूनचापीय वायु सुदुरपश्चिमबाट प्रवेश गरेपछि बढी असर देखिएको छ। मौसम बदलीकै कारण आज पश्चिम क्षेत्रमा हावाहुरी चल्ने महाशाखाले जनाएको छ। मौसम बदलीको प्रभाव आइतबारसम्म कायम रहने महाशाखाले निकालेको मौसम बुलेटिनमा उल्लेख छ ।

यस्तै, चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ। चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला र धारामा पानी जमेको छ । उपल्लो मुस्ताङमा न्यूनतम तापक्रम माइनल १५ डिग्री सेल्सियस पुगेको छ।

पानी जमेर धारामा आउन छाडेको छ।यसैगरी सदरमुकाम जोमसोम नजिकै घरपझोङ गाउँपालिका–५ मा रहेको धुम्बा तालमा पनि पानी जमेको छ। तालमा पानी जमेको हेर्ने पर्यटकको चहलपहल बढेको वडाध्यक्ष वीरेन्द्र थकालीले बताए।

यता हिमाली जिल्ला म्याग्दीको उच्च पहाडी क्षेत्रमा शुक्रबार बिहानदेखि हिमपात सुरु भएको छ। अन्नपूर्ण गाउँपालिका(६ मा पर्ने पर्यटकीय स्थल घोडेपानी, धवलागिरी गाउँपालिकाको गुर्जामा बिहानदेखि हिउ पर्न थालेको स्थानीयले जनाएका छन्।

कमेन्ट गर्नुहोस्
Share: