
पोखरा। पोखरा प्रिमिएर लिग (पीपीएल) को उद्घाटन मिति सरेको छ। पीपीएलको आयोजक कुइन्स इभेन्ट म्यानेजमेन्ट प्रा.लिले भोलि हुने भनिएको उद्घाटन पर्सि आइतबारका लागि सारिएको जानकारी दिएको छ। पीपीएलको ट्रफी सार्वजनिक गरेपछि कुइन्स इभेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले मौसम प्रतिकुलताका कारण उद्घाटन खेलको मिति सारिएको बताए।
अब आइतबारको उद्घाटन खेलमा साविकको विजेता पोखरा पल्टनले काठमाडौं गोल्डेन्ससंग खेल्ने छ । पुस १२ सम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । लिग सिंगल राउण्ड रोबिनको आधारमा संचालन हुनेछ । आयोजकका अनुसार हरेक टिमले एक अर्कासंग ५ खेल खेल्ने छन् ।
यस संकरणको पोखरा प्रिमियर लिग (पीपीएल)को विजेता टोलीले २७ लाख रुपैयाँ पाउने भएको छ । बिहीबार आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले सार्वजनिक गरेको पुरस्कार राशि अनुसार प्रतियोगितामा दोस्रो हुने टोलीले १० लाख रुपैया पाउने भएको छ ।
त्यस्तै प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ । म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिनेछ ।
प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई १ लाख र नमस्ते पोखरा प्रिमियर लिगको इमर्जिङ्ग खेलाडीलाई ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार दिइनेछ ।
तस्बिर: सुदर्शन रंजित
