धनुषा बम विस्फोट, प्रहरी इन्सपेक्टरसहित तीनको मृत्यु

Share:

काठमाडौं । धनुषाको महेन्द्रनगरमा बम विस्फोट हुँदा प्रहरी निरीक्षक ( इन्सपेक्टर)सहित तीन जनाको मृत्यु भएको छ ।

क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति बम विष्फोट हुँदा प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय बासिन्दा ४५ वर्षीय राजेश साह र उनका २४ वर्षीय छोरा आनन्दको मृत्यु भएको हो।

बम विस्फोटबाट प्रहरी जवान रिजनाथ कुमार महतो, राजेश्वरका अर्का छोरा प्रकाश र छोरी अञ्जली घाइते भएका छन् । उनीहरुको धरानमा उपचार भइरहेको छ ।

महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घरबाहिरको पोलमा राखिएको बम शनिबार राति सवा १२ बजेतिर विष्फोट भएको प्रहरीले जनाएको छ।

विष्फोटबाट राजेश्वरको घरमा सामान्य क्षति पुगेको छ । बम देखेर स्थानीयले नजिकै रहेको इलाका प्रहरी कार्यालयमा खबर गरेपछि प्रहरी निरीक्षक दाहालको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। प्रहरी पुग्ने वित्तिकै बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरी निरीक्षक दाहाल घटना स्थलमा भएको ठाउँको भीड हटाउने क्रममा पुनः बम बिस्फोट हुँदा घाइते भएका थिए। उनको उपचारको क्रममा बिहान करिब साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: