
पोखरा । दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमिएर लिग( पीपीएल-२) मा घरेलु टोली पोखरा पल्टन्सले विजयी सुरुवात गरेको छ। आइतबार भएको पीपीएल-२ को उद्घाटन खेलमा पोखराले काठमाण्डौ गोल्डेन्सलाई पराजित गर्दै विजयी सुरुवात गरेको हो।
पोखरा क्रिकेट रंगशालामा घरेलु टाेली पोखराले ११६ रनको लक्ष्य १४.१ ओभरमा १ विकेटको नोक्सानीमा भेट्टाउन सक्यो। पोखराका लागि कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए। उनले ४३ बलमा ४ चौका र ५ चक्काको मद्धतमा ६५ रन बनाए।
यस्तै पोखराका लागि रवी इन्द्र सिङ्गले ३८ रन बनाए। यसअघि ओपनर असिफ सेख १४ रन बनाएर आउट भएका थिए। काठमाण्डौका लागि सुसन भारीले १ विकेट लिनु बाहेक अरुले विकेट लिन सकेनन्। यसअघि टस हारेर पहिले ब्याटिंग गरेको काठमाण्डौले ८ विकेटको नोक्सानीमा ११५ रन बनाएको थियो।
काठमाण्डौका लागि भारतीय खेलाडी सुबोध भाटीले ४६ रन बनाउनु बाहेक अरुले राम्रो ब्याटिङ गर्न सकेनन। पोखराका लागि ललित नारायण राजवंशी, रासिद खान र कुशल मल्लले समान २ -२ विकेट लिए। यस्तै भारतीय खेलाडी प्रथामेश दाके र सरब्जित लड्डाले समान १-१- विकेट हात पारे।
प्रतियोगिताअन्तर्गत सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा बिहान ९ बजे विराटनगर टाइटन्स र धनगढी ब्लुज खेल्नेछन् । यस्तै दोस्रो खेलमा १२:४५ बजे काठमाण्डौ गोल्डेन्स र बुटवल ब्लास्टर्स आमनेसामने हुनेछन् ।
प्रतियोगितामा ६ सहरका ६ टोलीको सहभागिता छ । नेपाली क्रिकेटमा सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले रु २७ लाख र उपविजेताले रु १० लाख पुरस्कार पाउने छन् ।
प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिनेछ ।
प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई एक लाख र नमस्ते पोखरा प्रिमियर लिगको इमर्जिङ्ग खेलाडीलाई ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार प्रदान गरिने छ ।
फोटो-पोखरा पल्टन्स
