
पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल)मा आज सोमबार दुई खेल हुँदैछन् । पोखरा क्रिकेट रङ्गशालामा हुने पहिलो खेलमा विराटनगर टाइटन्सले एक्सपर्ट धनगढी ब्लुज बिच खेल हुनेछ ।
प्रदीप ऐरीको कप्तानीमा रहेको विराटनगरले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको धनगढीसँग बिहान ९ बजे खेल्नेछ । आज हुने पहिलो खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगिताको सुरुवात गर्न चाहन्छन् ।
अघिल्लो संस्करणमा कमजोर प्रदर्शन गरेको विराटनगर आज पहिलो खेलमा जीत निकाल्दै आफुलाई बलियो प्रतिद्धन्दीका रुपमा उभ्याउन चाहन्छ । यस्तै धनगढी पनि आज जित निकाल्दै आफु समेत यस प्रतियोगिताको दरिलो हकदारका रुपमा आफुलाई चिनाउन चाहन्छ ।
आज नै हुने दोस्रो खेलमा काठमाडाँैँ गोल्डेन्सले बुटवल ब्लास्टर्सबिच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा आइतबार पोखरा पल्टनसँग ९ विकेटले पराजित भएको काठमाडाँै आज जित निकाल्दै प्रतियोगितामा फर्कन चाहन्छ ।
सोमपाल कामीको कप्तानीमा रहेको बुटवलले आज काठमाडौँलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ । अघिल्लो संस्करणमा बुटवलको प्रदर्शन सम्झन योग्य रहेन र बुटवल प्रतियोगितामा पाँचौ स्थानमा सिमित बन्यो । काठमाडाँै र बुटवलको खेल आज १२ः४५ मा सुरु हुनेछ ।
प्रतियोगितामा ६ सहरका ६ टोलीको सहभागिता छ । नेपाली क्रिकेटमा सर्वा्धिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले रु २७ लाख र उपविजेताले रु १० लाख पुरस्कार पाउने छन् ।
प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिनेछ ।
प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई एक लाख र पोखरा प्रिमियर लिगको इमर्जिङ्ग खेलाडीलाई ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार प्रदान गरिने छ ।
