
काठमाडौं । पछिल्लो दुई दिनमा नेपाली फिल्म उद्योगले दुई हस्तीलाई गुमाएको छ । शनिबार मात्रै अभिनेता दीपक क्षेत्रीको निधन भएको थियो । त्यस्तै आइतबार राति चलचित्र विकास वोर्डका अध्यक्ष केशव भट्टराईको पनि ५४ बर्षको उमेरमा निधन भएको छ ।
भट्टराईको आइतबार राती करिब १०ः३० बजे काठमाडौंको चाबहिलस्थित ओम अस्पताल लाँदालाँदै गर्दा निधन भइसकेको अस्पताल श्रोतले बताएको छ । उनलाई हृदयघात भएको अनुमान गरिएको छ । भट्टराई उच्च रत्तचाप र सुगरका विरामी थिए ।
भट्टराई आठ महिनाअघि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका थिए। भट्टराईले दर्जनौँ चलचित्रहरु तथा टेलिसिरियलहरुमा अभिनय गरेका थिए भने ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’ लगायतका चलचित्रहरु निर्माण गरेका थिए ।
भट्टराईको जन्म २०२५ मंसिर ४ मा ओखलढुंगामा भएको थियो। क्षेत्रीको मृत्यु ५८ वर्षको उमेरमा शनिबार भएको थियो ।
उनी नेपाली फिल्ममा खलनायकका रुपमा अभिनय गदै आएका थिए । उनले दर्जनौँ फिल्ममा अभिनय गरेका छन् । श्वासप्रश्वासको समस्यामा रहेका क्षेत्रीको श्वासनलीमा मासु पलाएका कारण सल्यक्रिया समेत गरिएको थियो ।
प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
यता प्रधानमन्त्री केपि शर्मा ओलीले बितेका दुई दिनमा देशले प्रतिभावान् दुई कलाकार गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् । सोमबार बिहान समाजिक सञ्जाल ट्विटर मार्फत दिवगत केशव भट्टराई र दीपक क्षत्रीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दे उनले परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
‘बितेका दुई दिनमा हामीले प्रतिभावान् दुई कलाकार, केशव भट्टराई र दीपक क्षत्रीलाई गुमायौं । उहाँहरुको कला सधैं हाम्रो स्मृतिमा रहनेछ । हार्दिक श्रद्धाञ्जलि शोकाकुल आफन्त र परिवारजनमा गहिरो समशवेदना व्यक्त गर्दछु ।’
