
काठमाडौं । जडिबुटी खोज्न गएका जुम्लाको तिला गाउँपालिका ९ ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन् । उनीहरु चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका ९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिएका छन् ।
उनीहरु सेतक चिनी, भुल्ते, धुपी र पदमचाललगायतका जडीबुटी सङ्कलन गर्ने भनेर पाटनतर्फ लागेका थिए १२ जना नै गएको दिनदेखि आजसम्म सम्पर्कमा छैनन् । ढिपुगाउँबाट पाटन पुग्न दुई दिन लाग्छ ।
बेपत्ता हुनेमा ढिपु गाउँका धनबहादुर बोहोरा, नरवीर बोहोरा, तुल बोहोरा, ननिलाल रावत, सूर्य रावत, छविराज बोहोरा, जङ्ग रावत, सुमबहादुर बोहोरा, मनमाया बोहोरा, रेश्मा बोहोरा, लाउरी बोहोरा र कल्पना बोहोरा रहेका वडाध्यक्ष बोहोराले जानकारी दिएका छन् ।
उनीहरुको खोजी गर्न गृह मन्त्रालयले हेलिकोप्टर पठाउने तयारी गरेको छ। उनीहरुको खोजी र उद्दार गर्न सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर परिचालन गर्न लागिएको हो । तर सुर्खेतमा बाक्लो हुस्सु लागेका कारण अहिलेसम्म हेलिकोप्टर उड्न सकेको छैन। आकाश खुल्नासाथ हेलिकोप्टर उडाइने र बेपत्ता नागरिकको खोजी गरिने प्रहरीले जनाएको छ ।
ठूलो संख्यामा नागरिक बेपत्ता भएपछि आइतबार जिल्ला सुरक्षा समितिको बैठक बसेर उद्दारका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको थियो। बेपत्ताहरुको उद्दारका लागि सबै सुरक्षा संयन्त्र तयारी अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय, जुम्लाले जानकारी दिएको छ।
