
काठमाण्डौं । संयुक्त राष्ट्रसंघको अन्तर्रा्ष्ट्रिय खगोल युनियन (आइएयु)ले एक तारा र त्यसलाई घुम्ने ग्रहको नाम सगरमाथा र लालीगुराँस राखेको छ। फ्रान्सको पेरिसमा मंगलबार आईएयूले स्थापनाको सय वर्ष पुगेको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली नामबाट तारा र ग्रहको नामाकरण गरेको हो।
यसअघि आइएयुले नेपालीहरूलाई एक एक तारा र ग्रहको नाम राख्ने अवसर दिएको थियो। नाम छनोटको लागि नेपाल एस्ट्रोनोमिकल सोसाइटीले सुरेश भट्टराईको अध्यक्षतामा ५ सदस्यीय टोली बनाएको थियो।
नाम राख्नका लागि सोसाइटीले आफ्नो बेवसाइटमार्फत् नाम सिफारिस गर्न आह्वान समेत गरेको थियो। सोसाइटीले गत अगष्ट ३१ सम्ममा ४७६ ग्रह र ताराका नाम सिफारिस भएका थिए। त्यसबाट सोसाइटीले पाँच(पाँच वटा नाम छनोट गरी आइएयूलाई बुझाएको थियो।
सोसाइटीले गोर्खा, सगरमाथा, अरनिको, गौतम बुद्ध, जानकी, भृकुटी, यति, लालीगुराँस, डाँफे, कुमारी जस्ता दश वटा नाम पठाएको थियो।त्यसबाट पनि आईएयूले विभिन्न चरणमा छनोट गरी मापदण्ड पूरा भएका र चित्त बुझ्दो विश्लेषणका आधारमा लालीगुराँस र सगरमाथा छनोट गरेको थियो।
आइएयुले ११२ वटा राष्ट्रलाई नामाकरण गर्न ग्रह र ताराहरू छुट्टाइदिएको थियो। जसबाट नेपालको लागि एचडी १००७७७ वैज्ञानिक नाम भएको तारा (सगरमाथां) र त्यसलाई घुम्ने एचडी १००७७७ ‘बी’ नामक ग्रह (लालीगुराँस) को नामाकरण गर्न दिइएको थियो। यी तारा र ग्रह सम्बन्धित राष्ट्रका राजधानीबाट टेलिस्कोपको माध्यमले देख्न सकिने एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।
