
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ । बुधबार दिउँसो १ बजेका लागि आह्वान गरिएको भनिएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला उपस्थित नभएपछि बैठक स्थगित गरिएको हो ।
पार्टीको महाधिवेशन, कार्यकाल थप, भ्रातृ संस्थाको नेतृत्व चयन लगायतका विषयमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कुरा नमिल्दा पटक-पटक बैठक स्थगित गरिँदै आएको छ । सभापति पक्षले जबरजस्ती पेलर जान खोजेको भन्दै पौडेल पक्षले आइतबारको बैठक बहिस्कार गरेपछि यसबीचमा सहमतिको लागि पहल भइरहेको छ। तर कुनै टुंगोमा नपुग्दा बुधबारको बैठक पनि स्थगित गरिएको हो ।
गत बिहीबारबाट बहिष्कारमा उत्रिएको असन्तुष्ट समूह पनि आन्तरिक छलफलमै व्यस्त छ । गत बिहीबार आगामी महाधिवेशनको कार्यतालिका नल्याउने संस्थापन पक्षले अडान लिएपछि वरिष्ठ नेता पौडेल समूहले बैठक बहिष्कार गरेको थियो । पौडेल समूहको बहिष्कारबीच बसेको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय विभाग थप, भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुण दल गठनलगायत विभिन्न ९ एजेन्डा पेस गरेका थिए ।
गएको बिहीबारको बैठकमा एजेन्डा पेस गरी सभापति देउवाले पौडेल समूहलाई सहमतिमा ल्याएर सर्वसम्मत रूपमा पारित गराउने प्रयास जारी राखे पनि ठोस सहमति भने जुटेको छैन । पौडेल समूह जारी केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको कार्यतालिका पेस गर्नुपर्ने अडानमा रहेको छ ।
