
पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आज चितवन राइनोज र बुटवल ब्लास्टर्स खेल्दै छन् । पोखरा क्रिकेट मैदानमा केही बेरमा खेल सुरु हुँदैछ । बुटवलले टस जितेर बलिङ रोजेको छ । चितवनले ब्याटिङ गरिरहेको छ । दुवै टोलीले अहिलेसम्म एक/एक खेल खेलका छन् । उपाधि दाबेदार मानिएका अपराजित दुवै टोलीले तालिकामा समान दुई/दुई अंक जोडेका छन् ।
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको कप्तानीमा रहको चितवनले पहिलो खेलमा पोखरा पल्टनलाई ६ विकेटले पराजित गरेको थियो । यस्तै सोमपाल कामीको कप्तानीमा रहेको बुटवलले काठमाडौँ गोल्डेनलाई सुपर ओभरमा हराएको थियो । नेट रन रेटको आधारमा चितवन अंक तालिकाको शीर्ष स्थानमा छ भने बुटवल चौंथो स्थानमा छ ।
प्रतियोगितामा ६ सहरका ६ टोलीको सहभागिता छ । नेपाली क्रिकेटमा सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले रु २७ लाख र उपविजेताले रु १० लाख पुरस्कार पाउने छन् । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई एक लाख र नमस्ते पोखरा प्रिमियर लिगको इमर्जिङ्ग खेलाडीलाई ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार प्रदान गरिने छ ।
