अनि घर फर्कियो ‘बराले जेठा’

Share:

रेम बिक
पोखरा, ३ पुस । त्यसो त अनुपलाई पोखराको मायाले कहिँ गए पनि छाडेको होईन । तर उनी लामो समय पोखरादेखि पर बसेर काम गरे । पढे, केही बुझे अनि उपलब्धिहरु बटुले ।

उमेरले पाँच दशक टेक्यो । अनि अब उनी पोखरा फर्केका छन् । काठमाण्डौमा बसेर लामो समय अभिनय सिकाएका रंगकर्मका ‘बादशाह’अनुप अगाडि बढ्नुपर्नेमा झन् पछाडी पो धेकेलिएका हुन् की ? केही दिन अगाडी पोखरामा भएको नेपाल साहित्य मेलामा भएको एउटा सेसनमा कवयत्री सरस्वती प्रतिक्षाले सोधिन् । ‘अहँ, म जहाँ गए पनि पोखराकै थिएँ । म यहीँबाट उठेको हुँ । र, मलाई यहाँ फर्किन त्यस्तो कुनै समस्या पनि भएन । र, यहीँबाट मैले झनै बढि अग्रगामी छलाङ मार्ने योजना बनाएको छु । ग्लोबलाइजेशनको यो बेलामा कुनै काम गर्नका लागि ठाऊँले फरक पनि त नपार्ने बनाईसकेको छ ।’ अनुप जोशिलो सुनिए ।

अनुपले रंगकर्मको कखरा सिकेको पोखरामै हो । यहाँ उनले एउटा समूह नै बनाएर कुनै बेला नाटकहरु गर्थे । त्यही बेला उनी भारतको नेशनल स्कुल अफ ड्रामामा अध्ययनका लागि जाने भए । यो कुनै चानचुने ड्रामा स्कुल थिएन । भारतका चर्चित सिनेमा र नाटकका हस्तीहरुले यही स्कुलमा सिकेका थिए । र, आफ्नो करिअरलाई अगाडि बढाईरहेका थिए/छन् ।

त्यो बेलामा यो स्कुल पढ्न जाने अनुप पोखराकै पहिलो व्यक्ति थिए । त्यसो त नेपालकै कुरा गर्ने हो भने पनि यो स्कुलमा जाने उनी दोस्रो व्यक्ति हुन् ।

भारतमै रहँदा पनि उनलाई नेपालको मायाले छाडेको थिएन । नेपालमै फर्केर यहाँको रंगमञ्चलाई अगाडी बढाउने हुटहुटी थियो । त्यसैले त उनले पढाई सकेपछि नेपाल फर्किए अनि काठमाण्डौमा बसे ।

तर त्यो बेलामा अनुप नेपाल आउँदा उनकै नजिकका मान्छेले पनि उनलाई गाली गरे । ‘नेपालमा रंगमञ्च शान्त स्टेशन जस्तो थियो । भएका अलिअलि रंगकर्मीहरुलाई पनि फिल्मको भूतले छोईसकेको थियो । रंगमञ्च पुरै सुस्ताएको थियो । त्यस्तो बेलामा म चाहीँ रंगमञ्चमा भविष्य बनाउँछु भन्दै नेपाल फर्किएको थिएँ । अनि मेरा आफन्त किन नरिसाउन् ?’ उनी आफैँले प्रतिप्रश्न गरे ।

तर उनी हिम्मत हार्नेवाला थिएनन् । चुनौतीमा नै अवसर देख्ने अनुपका लागि बाटो अप्ठेरो थियो, तर असम्भव चाहीँ थिएन । उनी आफ्नो करिअरको बाटो आफैँ खन्न तयार भए । र, केही दशकमै त्यसले नतिजा दियो । यहाँको रंगमञ्चको शाख फर्किन थाल्यो । युवापुस्ता पनि रंगमञ्चतर्फ आकर्षित हुँदै गयो । अहिले त अनुप थुप्रै रंगकर्मी र फिल्मकर्मीको गुरु बनिसकेका छन् ।

तर फेरि पोखरा ?

यो प्रश्न अहिले अनुपलाई बारम्बार सोधिने प्रश्न हो । केन्द्रिकृत राज्यप्रणाली भएको नेपालमा काठमाण्डौ जस्तो पोखरालाई मानिदैन । चाहे त्यो अवसरको सवालमा होस्, या अरु जुनसुकै विषयमा । तर अनुप अब पोखरालाई केन्द्र बनाएर काम गर्ने गरि यतै आईसके ।

अनुपको मनले भन्यो–‘तँ अब धेरै बाहिर बाहिर काम गरिसकिस् । अब त आफ्नै घर फर्किने बेला आयो । घरमा बुढ्यौलीले छोपेका बुवाआमा छन् । उनीहरुको हेरचाह पनि गर्नुप¥यो । बराले जेठा, अब तँ घर फर्कि ।’

र, उनले आफ्नो मनले भनेको माने । घर फर्किएपछि बुवाआमालाई पनि सजिलो हुने । त्यसैमाथि आफ्नो मनलाई पनि शान्ति मिल्ने । यति भैसकेपछि अनुपलाई काठमाण्डौ रोकिरहन मन लागेन । तर उनी आफ्नो बुवाआमाको जेठा छोराको जिम्मेवारी मात्रै सम्झिएर पोखरा आएका भने हुँदै होईनन् । उनलाई पोखरा फर्काउन उनकै एउटा योजनाले पनि काम ग¥यो ।

‘मेरो एउटा योजना, जुन लामो समय देखि बाकसको भित्रपट्टी रहिरकेको थियो । कि, पोखरामा एउटा गज्जबको रंगमञ्च केन्द्र बनाउने । जहाँ कलाकारहरुले नाटक गरुन् । कविहरुले कविता वाचन गरुन् । लेखकहरुले विभिन्न कृतिमाथि वहश गरुन् । हो, यस्तै साहित्यसँग जोडिएका थुप्रै विधाहरुलाई एकै ठाऊँमा समेट्ने एउटा केन्द्र पोखरामा बनाउने मेरो पहिल्यैदेखिको योजना हो । र, यही योजनालाई मुर्तरुप दिन पनि म पोखरा फर्किएको हुँ ।’ आफ्नो योजनाबारे अनुपले बेलिविस्तार लगाए ।

अनुप आईसकेपछि पोखराको रंगकर्मीहरु पनि केही हौसिएका छन् । पोखराको रंगमञ्चको पुरानो शाख पुनः फर्किने विश्वास यहाँका रंगकर्मीहरुले गर्न थालेका छन् ।

अनुप पनि यहाँका रंगकर्मीहरुको आफूप्रतिको विश्वास खेर जान दिनेवालामा छ्रैनन् । आफ्नो योजनामा यहाँका रंगकर्मीहरुलाई पनि समावेश गराउने विषयमा उनी छलफलमा पनि जुटिरहेका छन् ।

र, पोखराबाट उनले अबको दिनमा नाटक अनि फिल्मको कामलाई पनि निरन्तरता दिनेछन् ।

कमेन्ट गर्नुहोस्
Share: