
पोखरा । पोखरामा आजदेखि नाटक ‘उ मरेकी छैन’ मञ्चन हुँदैछ । आज दिउँसो साढे ४ बजेबाट पोखरा थिएटरको गन्दर्व नाटकघरमा मञ्चन हुने यो नाटक नाट्य सम्राट बालकृष्ण समले लेखेको नाटक हो । नाटकको परिकल्पना र निर्देशन चे शंकरले गर्दैछन् । पोखरामा न्यारेटर समुहको यो पहिलो प्रस्तुती हो ।
नाटकमा लोपोन्मुख मारुनी नृत्य, लोक शैलीको भजन तथा लोक गीत समावेश गरिएको छ । १ घण्टा १० मिनेट अवधिको यो नाटकले दर्शकको माया पाउनेमा निर्देशक तथा परिकल्पनाकार चे शंकर विश्वस्त छन् । यो धार्मिक नाटक हो ।
पहिलोपटक सन् २०१२ बाट’ नाटक लेखन तथा निर्देशनमा सक्रिय बनेका चे शंकरले हालसम्म एक दर्जन बढी नाटक निर्देशन गरिसके । उनी नाटक लेखन, निर्देशन तथा प्रशिक्षणमा क्रियाशिल छन् । यसअघि चे शंकरको निर्देशनमा पोखरामा तिर्खा नाटक मञ्चन भएको थियो ।
नाटकमा रोसन ज्ञवाली, सन्दिप पाण्डे, ज्योती हमाल, विष्णु राज तिमिल्सिना, टिकाराम पौडेल, अनुप अधिकारी, श्रृष्टि केसी, सविता सापकोटा, उज्वलराज ढकाल, विनोद रसायली, गौरव पौडेल, दिलकुमारी लक्ष्मी हमालले अभिनय गर्दैछन् । नाटकमा सह–निर्देशनको जिम्मा रेवन राईले निभाएका छन् ।
नाटक पौष १४ गतेसम्म मञ्चन हुनेछ । नाटक हरेक दिन दिउँसो सवा ४ बजे तथा शनिबार अतिरिक्त सो दिउँसो १ बजे समेत मञ्चन गरिने सह–निर्देशक रेवन राईले जनाए । आफुहरुको पहिलो प्रयासमा नाटक मञ्चन गर्न लागेकोले नाटक हेरेर प्रतिक्रिया दिनको लागि उनले सबैमा अनुरोध गरेका छन् ।
