प्रदेश नं ३ मा भ्रमण वर्षको शुभारम्भ सौराहाबाट हुने

Share:

काठमाडाैं । प्रदेश नं ३ मा नेपाल भ्रमण वर्ष २०२० लाई चितवनको सौराहाबाट शुभारम्भ गरिने भएको छ । चितवनमा पुस १० देखि शुरु हुने १८औँ संस्करणको हात्ती महोत्सवको समयावधि थप गरेर भ्रमण वर्षको शुभारम्भमा गर्न लागिएको हो ।

यस वर्ष चार दिन हात्ती महोत्सवको समय थप गरेर भ्रमण वर्षको शुभारम्भ गर्न लागिएको क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए। जनवरी ३ तारिखमा सौराहामा एक विशेष कार्यक्रमको आयोजना गरी प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलबाट भ्रमण वर्षको शुभारम्भ गरिने उनले बताए।

हात्ती महोत्सवको समायवधि बढेपछि कार्यक्रमहरु पनि थप गरिएको उनले जानकारी दिए। यसअघिका वर्षमा हटाइएका टाँगा दौड, गाडा दौड, डुङ्गा दौड भ्रमण वर्षलाई लक्षित गरेर पुनः समावेश गरिएको छ । प्रदेश नं ३ का मुख्यमन्त्री पौडेलले विशेष चासो राखेपछि हात्ती महोत्सवको समय थप गर्न सौराहाका व्यवसायी तयार भएका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जको आडमा रहेको सौराहामा वर्षेनी लाखौँ पर्यटक पुग्ने गरेका छन् । पर्यटकहरु गैंडा, हात्तीलगायतका जनावरहरू र थारू संस्कृतिको अवलोकन गर्न सौराहा आउँछन् । क्रिसमसका समयमा विदेशी पर्यटक कम हुँदै जान्छन् ।

भ्रमण वर्ष लक्षित गरेर सौराहामा रात्रिकालीन जिप सफारी, फुड फेस्टिबललगायतका अन्य नयाँ कार्यक्रम पनि आयोजना गर्न लागिएको उनको भनाइ छ । चितवनमा भ्रमण वर्ष २०२० मा चार लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: