
पोखरा । पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा आज एक खेल हँदैछ । आज विराटनगर टाइटान्स र काठमाडौँ गोल्डेन्स वारियर्स खेल्ने छन् ।
यी दुई टोली बीचको खेल पोखरा क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुने छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौँले अहिलेसम्म तीन खेल खेल्दा दुई खेलमा पराजय व्यहोरेको छ भने एक खेल मात्र जितेको छ । यस्तै प्रदीप ऐरी कप्तानी रहेको विराटनगर टाइटन्सले दुई खेल खेल्दा एक खेल जितेको छ भने एकमा पराजित भएको छ ।
तीन खेलमा दुई अंक जोडेको काठमाडौँ अंक तालिकामा तेस्रो स्थानमा छ । दुई खेल खेलेको विराटनगर दुई अंकसहित चौँथो स्थनमा छ । काठमाडौँ पहिलो खेलमा पोखरा पल्टनसँग ९ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा बुटवल ब्लास्टर्ससँग सुपर ओभरमा पराजय व्यहोरेको काठमाडौँले तेस्रो खेलमा एक्सपर्ट धनगढी ब्लुजलाई १ सय ६ रनले हराएको थियो ।
तेस्रो खेलमा जीत निकाल्दा कप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट ब्याटिङ गरे । ३८ बल खेलेका उनले ८ चौका र ९ छक्काको सहयोगमा शतक पूरा गरे । दबाबमा रहेको काठमाडौँका लागि आज पनि ज्ञानेन्द्रको त्यस्तै प्रदर्शन आवश्यक छ । यता दुई खेल खेलेको विराटनगर एक्सपर्ट धनगढीसँग ५ रनले पराजित भएको थियो । दास्रो खेलमा पोखरा पल्टनलाई ४५ रनले हरायो ।
दुवै टोली आजको खेल जितेर प्रतियोगितामा दोस्रो जीत दर्ता गर्न चाहान्छन् । अहिलेसम्मको खेलको नतिजा हेर्दा चितवन राइनोजले फाइनल खेल्ने पक्का छ । तीन खेल खेलेको चितवन अहिलेसम्म अपराजित छ । चितवन तीन खेलमा ६ अंक जोड्दै अंक तालिकको शीर्ष स्थानमा छ ।
तीन खेलमा दुई खेल जितेको बुटवल दोस्रो स्थानमा रहँदा चार खेलमा एक खेल जितेको घरेलु टोली पोखरा पल्टन पाँचौ स्थानमा छ । तीन खेल खेल्दा एक खेल मात्र जितेको धनगढी भने तालिकको पुछारमा छ ।
प्रतियोगितामा ६ सहरका ६ टोलीको सहभागिता छ । नेपाली क्रिकेटमा सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले रु २७ लाख र उपविजेताले रु १० लाख पुरस्कार पाउने छन् । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई एक लाख र नमस्ते पोखरा प्रिमियर लिगको इमर्जिङ खेलाडीलाई ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार प्रदान गरिने छ ।
टीम विराटनगर :
प्रदीप ऐरी, सुनिल धमला, लभ कमत, लोकेश बम, राजेश पुलामी, किशोर महतो, पुनित मेहरा, मुहम्मद जैद, जीतेन्द्र मुखिया, दीलिप नाथ, नोमन खान, राजु रिजाल, शाहब आलम, दिपेश श्रेष्ठ, मिनाश थापा र पुष्प थापा ।
टीम काठमाडौँ :
ज्ञानेन्द्र मल्ल,जयकिशन कोल्सवल, आदिल खान, पृथु बास्कोटा, सुशन भारी, सिबोध भाटी, अमृत भट्टराई, सुवाश खकुरेल, वसन्त रेग्मी, अमर रौटेला, पवन शराफ, अमित श्रेष्ठ, सूर्य तमाङ, गौरव तोमार र नन्दन यादब ।
