आईकाड एफसीलाई प्रथम इनास प्रिमियर कपको उपाधी

Share:

पोखरा । आईकाड एफसी आबुधाबीले प्रथम इनास प्रिमियर कप २०१९ ‘११’ ए साईड फुटबल प्रतियोगिताको उपाधी हात पारेको छ । गएको शुक्रबार आबुधाबीको शेख जायद स्टेडियममा सम्पन्न फाईनल खेलमा एफसी मिना फुटबल टिमलाई पेनाल्टी सुटआउटमा ५–४ गोलको अन्तरमा पछाडी पार्दै आइकाड एफसीले उपाधी जितेको हो ।

एफसी मिनाको तर्फबाट खेल शुरू भएको पहिलो मिनेटमै पहिलो गोल गर्दै टिमलाई अग्रता बनाएका थिए तर खेलको दोश्रो हाफको १९ औ मिनेटमा आइकाड एफसीले पनि पहिलो गोल गरेर टिमलाई १–१ को बराबरी बनाए । २५–२५ मिनेट खेलाइएको खेलमा एफसी मिना फुटबल टिमको तर्फबाट गोल गर्ने धेरै अबसरहरु प्राप्त गरेपनि गोल गर्नबाट चुकेपछि एफसी आईकाड फुटबल टिमसंग पेनाल्टी सुटआउटमा जानुपरेको थियो ।

खेलमा प्रथम हुने आईकाड एफसीले नगद १ लाख ५० हजार सहित गोल्डकप, ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गरेको । यस्तै दोश्रो भएको एफसी मिना टिमले नगद ७५ हजार सहित शिल्ड मेडल प्रमाणपत्र प्राप्त गरेको छ । अनुशासित टिम बनेको युनाईटेड स्टार एफसीले ट्रफी, प्रमाणपत्र र नगद ६ हजार सहित हात पार्यो । यस्तै खेलमा उत्कृष्ट खेलाडीका रुपमा आईकाड एफसीका विशाल पाख्रिन, बेष्ट डिफेन्सको उपाधी उपेन मगर, बेष्ट मिड फिल्डर तिलक चौधरी, बेष्ट किपरको उपाधी सुनिल श्रेष्ठ घोषित भएका थिए । उनीहरु सबै जनाले नगद ३ हजार सहित ट्रफी प्राप्त गरेका थिए ।

प्रतियोगितामा युएईका सबै राज्यहरूबाट १४ वटा टिमको सहभागिता थियो । बिजेता र उपबिजेता टिमका खेलाडीहरुलाई बरिष्ठ समाजसेवी चन्द्रप्रसाद सापकोटा, समाजसेवी एकेन्द्र थापा, एनआरएनए मध्यपूर्व संयोजक मनोज गोर्खाली तथा समाजसेवी लोकेन्द्र बमले पुरुस्कार प्रदान गरेका थिए । पुरस्कार प्रदान गर्दै विशेष अतिथी सापकोटाले इनास प्रिमियरले इनासलाई कलाकारिताको क्षेत्रमा मात्र नभएर अबदेखि नेपाली खेलकुद क्षेत्रमा पनि चिनाउन थालेको कुरा गरे ।

इनास प्रिमयर कप सम्पन्न गरेकोमा बधाई र धन्यवाद दिँदै आगामी दिनमा सधैं साथ रहने र हातेमालो गर्न तयार रहेको समाजसेवी एकेन्द्र थापाले बताए । समापन समारोहमा इनास युएईका अध्यक्ष राम तामाङ, इनास आबुधाबीका अध्यक्ष सागर क्षेत्री, प्रायोजक ईन्डेक्स एक्सचेन्जका नविन पौडेल, नेपाली समाज युएईका खेल संयोजक हिरालाल श्रेष्ठ, खेल विश्लेषक राउल श्रेष्ठ, इनास खेलकुद संयोजक दुर्गा सुनुवार तथा व्यवस्थापक सूर्य सुनुवार लगाएतले खेल भब्य रुपमा सफल भएकोमा सबै सहयोगी क्लबहरू र खेलाडीहरुलाई धन्यवाद तथा बधाई ज्ञापन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: