पोखराको खराब प्रदर्शन, धनगढीसामु ८० रनको लक्ष्य प्रस्तुत

Share:

पोखरा। दोश्रो संस्करणको पोखरा प्रिमिएर लिग(पीपीएल) अन्तर्गत सोमबारको खेलमा पोखरा पल्टनले धनगढी ब्लुजसामु ८० रनको लक्ष्य प्रस्तुत गरेको छ । पोखरा क्रिकेट रङ्गशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १६.३ ओभरमा सबै विकेटको क्षतिमा ७९ रन बनाएको हो । यो प्रतियोगिताकै न्यून लक्ष्य हो ।

पोखराका लागि आसिफ शेखले सर्वाधिक ३२ रन बनाए । अरुको प्रदर्शन उल्लेख्य रहेन । पोखराका ओपनर कुशल भुर्तेल ६ रनमै पभेलियन फर्किए । ७ बल खेलेका उनले १ छक्का प्रहार गरेका थिए । उनी दोस्रो ओभरको दोस्रो बलमा कमल सिंह ऐरीको बलमा सागर ढकालको हातबाट क्याच आउट भएका थिए । पोखराका कप्तान शरद भेष्वाकर ३ बलमा ४ रन बनाउँदै हिट विकेट हुन पुगे । तेस्रो ओभरको तेस्रो बलमा उनी दिपल पुनियाको ब  लमा लामो शट खेल्ने चक्करमा हिट विकेट हुन पुगे ।

शरद आउट भएपछि क्रिजमा उत्रेका भारतीय खेलाडी रविइन्द्र सिंह डक आउट हुन पुगे । उनी तेस्रो ओभरको पाँचौ बलमा दिपल पुनियाको बलमा विकेटकिपर शुभेन्दू पाण्डेको हातबाट क्याच आउट भएका थिए । पोखराका विनोद भण्डारी १२ रन बनाउँदै आउट हुन पुगे । आठौँ ओभरको अन्तिम बलमा भण्डारी अनिल खरेलको बलमा आउट भए । कुशल मल्ल २ रन बनाउँदै रन आउट हुन पुगे । ६ बल खेलेका उनी रन आउट भएका थिए ।

कृष्ण कार्कीले १ रन मात्र बनाउन सके । ११ औँ ओभरको अन्तिम बलमा उनी सागर ढकालको बलमा दिपल पुनियाको हातबाट क्याच आउट हुन पुगेका थिए । रोहित कुमार पौडेलले खाता खोल्न सकेनन् । उनी समेत ढकालको बलमा फिर्दोश अन्सारीको हातबाट क्याच आउट भए । यस्तै आसिफ शेख ३२ रन बनाएर आउट भए । २९ बल खेलेका उनले ४ चौका प्रहार गरेका थिए । बाह्रौँ ओभरको पाँचौ बलमा उनी अनिल खरेलको बलमा एलबिडब्लु आउट भएका थिए ।

यस्तै प्रथामेश डाके २ रन बनाउँदै आउट हुन पुगे । उनी १४ औं ओभरको पहिलो बलमा अनिल खरेलको बलमा बोल्ड आउट भएका थिए । पोखराका लागि सर्वजित लड्डाले ४ रन बनाउँदा ललित राजवंशीले १ रन बनाउन सके । धनगढीका लागि अनिल खरेलले सर्वाधिक ३ विकेट लिए । दिपक पुनिया, सागर ढकाल, कमलसिंह ऐरीलले समान २–२ विकेट लिए ।

प्रतियोगिताको अङ्क तालिकामा धनगढी पुछारमा रहेको छ । ४ खेलमा १ मात्र जित निकालेको धनगढी २ अङ्कका साथ अन्तिममा रहेको हो । यस्तै ४ खेलमा २ अङ्क नै जोडेको पोखरा अङ्क तालिकामा रनरेटका आधारमा पाँचौ स्थानमा रहेको छ ।

प्रतियोगितामा ६ सहरका ६ टोलीको सहभागिता छ । नेपाली क्रिकेटमा सर्वािधक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले रु २७ लाख र उपविजेताले रु १० लाख पुरस्कार पाउने छन् । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई एक लाख र नमस्ते पोखरा प्रिमियर लिगको इमर्जिङ खेलाडीलाई ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार प्रदान गरिने छ ।

कमेन्ट गर्नुहोस्
Share: