
पोखरा । आज २५ डिसेम्बर अर्थात क्रिसमस डे । इसाई धर्मावलम्बीहरुले आज (बुधबार) आफ्नो पर्व क्रिष्टमस (क्रिसमस) मनाउँदैछन् । यो दिन क्रिश्चियन धर्मका प्रवर्तक यशु क्रिष्टको जन्म भएको मान्यता छ । यस अवसरमा विश्वभरका इसाई धर्मावलम्बीहरुले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिन मनाउँछन् । क्रिसमसको अर्को अर्थ जिजस क्राइस्टको जन्म दिन पनि हो ।
क्रिसमसको अघिल्लो रातलाई क्रिसमस इभको रुपमा मनाइन्छ । संसारभर क्रिसमस इभ मनाइरहँदा नेपालमा पनि यो पर्व मनाइएको छ ।आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट जिजस क्राइस्टको जन्म भएको इसाई धर्मग्रन्थ बाइबलमा उल्लेख छ ।
यस्तै, यसअघि नेपालमा यस दिन सरकारले विदा दिने गरेको थियो । यस पटक पनि क्यालेन्डरमा बुधबार रातो चिन्ह लगाइएको छ । तर, देशभर सबैका लागि सार्वजनिक विदा भने नदिइएको गृह मन्त्रालयले जनाएको छ । बुधबार क्रिसमस डे मनाउने इसाई धर्मावलम्बीहरुले मात्रै विदा पाउनेछन् ।
यसअघि क्रिसमस डेमा सार्वजनिक विदा दिइँदै आए पनि पछिल्लो समयमा धार्मिक पर्वहरुमा मुलुकभर सार्वजनिक विदा दिइने प्रावधान सरकारले हटाएको छ र सम्बधित धर्मावलम्बीहरुलाई मात्रै विदा दिन थालिएको छ ।
