पूर्व पिएम नेपालले पिएनका विद्यार्थीलाई हौस्याए, हँसाए (भिडियोसहित)

Share:

पोखरा ।  नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पृथ्वीनारायण क्याम्पसका विद्यार्थीमाझ ठट्यौली पारामा प्रस्तुत भए । माहौल उस्तै रमाईलो बन्यो । पुसको ठण्डीमा विद्यार्थीहरु नाचेरै जाडो भगाए । यो चाँजोपाँजो मिलायो अनेरास्ववियुले ।

नेता नेपाल सहितका विद्यार्थी नेताहरुलाई आमन्त्रण गरी अनेरास्ववियु, पृथ्वीनारायण क्याम्पस कमिटिले नयाँ विद्यार्थीलाई स्वागत गरेको हो । स्वागत तथा सम्मान कार्यक्रममा ख्यातीप्राप्त कलाकारहरुद्वारा गायन तथा हाँस्य प्रस्तुतिका साथै विद्यार्थीहरुले नृत्य प्रस्तुत गरे ।

विद्यार्थीलाई सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री नेपालले आफ्नो. विद्यार्थीकालको स्मरण मात्र गरेनन्, सो समयका रमाईलो किस्सा समेत सुनाउँदै हँसाए । उनले विद्यार्थीहरुलाई लगनशील र अध्ययनशील बन्न समेत हौस्याए । ‘टपर विद्यार्थीहरु नै भोलि देश हाँक्ने हो । राजनीतिमा अघि बढ्ने हो । पढ्ने विद्यार्थी नै मुलुक बनाउन सक्षम हुन्छ किनकि, जुन विद्यार्थीमा बौद्धिक क्षमता हुन्छ, ऊ पढाईमा अब्बल हुन्छ । विश्वविद्यालयमा टपर हुन्छ । त्यसैले पढ्न अल्छी नगर्नुस्, पढ्नुस् ।’ नेता नेपालले भने ।

क्याम्पसका स्ववियू पूर्व सभापति एवं अनेरास्ववियु नेता रश्मी आचार्यले क्याम्पसको उन्नयनमा अनेरास्ववियुले लिएको नेतृत्व नै निर्णायक रहेको बताए । उनले शैक्षिक तथा भौतिक विकासमा अनेरास्ववियु लागि परेको भन्दै फागुन १४ पछि अब २४ औं स्ववियु सभापति निर्विकल्प अनेरास्ववियुकै हुने जिकिर गरे । मुलुकका हरेक राजनीतिक परिवर्तनमा पिएनका विद्यार्थीहरु अग्रमोर्चामा रहेर योगदान गरेको उल्लेख गरे ।

अनेरास्ववियुका नेता सुदेश पराजुलीले विद्यार्थीले उच्च शिक्षापछि सर्टिफिकेट सिरानीमा राख्ने हैन, आफू बन्ने र देश बनाउन सुझाव दिए । उनले दशक देखि स्ववियू चुनाव हुन नसकेको तर्फ ध्यानाकर्षण जनाउँदै अब पृथ्वीनारायण क्याम्पसबाट रविन्द्र अधिकारी, राजिव पहारी, शोभियत अधिकारी, रश्मी आचार्य जन्मनुपर्ने बताए । अनेरास्ववियु भारतीय विस्तारवाद विरुद्ध लडिरहेको र अझै सशक्त रुपमा लाग्ने पनि उनको भनाई थियो ।

अर्का अनेरास्ववियु नेता क्षितिज सापकोटाले भारतको हेपाहा प्रवृत्तिविरुद्ध अब लड्नुपर्ने बेला आएको बताए । भारतसँगको सीमानामा पिएन क्याम्पस नहुनु भारतको अहोभाग्य रहेको उनको कथन थियो ।

सो अवसरमा नेकपाका नेताहरु तुलबहादुर गुरुङ, श्रीमाया थकाली, श्रीनाथ बराल, चुडामणि जंगली, कृष्ण थापा, राजीव पहारी, दीपक पौडेल, बखनासिंह तमु, राजकाजी गुरुङ करणको पनि उपस्थिति थियो ।

क्याम्पस कमिटिका अध्यक्ष राजन शर्मा पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत विवेक देवकोटा र सञ्चालन बसन्त भट्टचन तथा बज्रराज अधिकारीले गरेका थिए ।

सो अवसरमा उत्कृष्ट विद्यार्थी तथा कर्मचारीलाई सम्मान समेत गरियो । बिएससीका रोशन खनाल, बिएएलएलबीका रितिका शर्मा, बिबिएसका शेखर ढकाल, बिएडका कुन्ती घले गुरुङलाई प्रशंसापत्र सहित सम्मान गरियो । यस्तै, कर्मचारीहरु युवराज बास्तोला र बलराम पहारी तथा प्राध्यापकहरु लाक्पा छिरिङ शेर्पा र मिनप्रसाद लम्साललाई सम्मान गरेको हो ।

सांस्कृतिक प्रस्तुति अन्तर्गत नेपाल आइडलका बिक्रम बराल सहित तारापति सुवेदी, जीवन दाहाल, आयुष परियार, राजेन्द्र नेपाली, युवराज भण्डारी लगायत क्याम्पसका विद्यार्थीहरुले आफ्ना प्रस्तुतिले मनोरञ्जन प्रदान गरे ।

कमेन्ट गर्नुहोस्
Share: