

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थी, शिक्षक र स्थानीयलाई एक विदेशी संस्था र मनिलाल प्रतिष्ठान कास्कीले संयुक्त रुपमा न्यानो कपडा वितरण गरेको छ ।
जाडो मौसममा उपयुक्त पोशाकको अभावमा विद्यार्थीहरु विद्यालयमा नियमित उपस्थित नहुने गरेको पाएपछि समाजसेवी जापान गुरुङको समन्वयमा आइतबार यहाँको ४ विद्यालयका २ सय ९८ जनालाई न्यायो कपडा वितरण गरिएको हो । प्रतिष्ठानका अध्यक्ष रामहरी गुरुङको प्रमुख आतिथ्यतामा सो कार्यक्रम गरिएको हो । न्यानो कपडा वितरण गर्दै अध्यक्ष गुरुङले जाडो मौसममा विद्यालयमा विद्यार्थीहरुको उपस्थितीलाई नियमित गराउन आफुहरुको सहयोगले टेवा पुग्ने विश्वास ब्यक्त गरे ।
श्री गौरीशंकर मनिलाल माध्यमिक विद्यालयका भूतपूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका उनले विद्यार्थीहरुलाई जाडोकै कारण विद्यालय आउन नसक्ने अवस्थालाई अन्त्य गर्नका लागि आफुहरुले सहयोग गरेको पनि जानकारी दिए । गुरुङले आगामी दिनमा पनि प्रतिष्ठानको तर्फबाट विभिन्न शैक्षिक सहयोग गर्ने आश्वासन दिएका थिए ।
माछापुच्छ्रे गाउँपालिका–९ स्थित उक्त प्रतिष्ठान र म्यारीगोल्ड चेन इङ्ल्याण्ड युकेकोे संयुक्त सहकार्यमा माछापुच्छ्रे गाउँपालिकाको वडा न ८ लुम्रे स्थित तारेबराह आधारभूत विद्यालयका १ सय १२ जना, बमबहादुर घलेल आधारभूत विद्यालय, घलेलका १ सय १९ जना, अन्नपूर्ण आधारभूत विद्यालय कालीमाटीका ४१ जना र वडा न ६ को इन्द्रेणी आधारभूत विद्यालयका २६ जना विद्यार्थी र शिक्षकलाई ज्याकेट, ट्राउजर र टोपी वितरण गरिएको हो ।
साथै सोहि अवसरमा विद्यार्थीबाहेक आर्थिक स्थिति कमजोर भएका स्थानीय र शारिरिक अशक्तता भएकालाई पनि न्यानो कपडा वितरण गरिएको थियो । कार्यक्रममा भलिबल खेलका राष्ट्रिय रेफ्रिसमेत रहेका जापान गुरुङले वर्षेनी खेलकुद सामाग्री र पोशाकहरु सहयोग उपलब्ध गराउदैँ आएको स्मरण गर्दै यस पटक जाडो अत्याधिक बढेकाले न्यानो कपडाका लागि पहल गरेको बताए ।



