पोखरा सडक महोत्सव जारी, वेटर्स दौडमा भुमिराज पहिलो

Share:

पोखरा। रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराको आयोजनामा पोखरामा सडक महोत्सवमा जारी छ । महोत्सवमा नेपालका विभिन्न ठाउँ र विदेशी पर्यटकहरु पोखरा आउने क्रम चलिरहेकै छ । ‘सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ’ भन्ने मूलनाराका विगत २१ वर्ष देखी हुँदै आएको महोत्सवमा पोखरा र यस क्षेत्रको कला, सँस्कृति, भेषभूषाले सबैको मन तानेको छ ।

साँस्कृतिको संरक्षण गर्दै आन्तरिक एवम् बाह्य पर्यटक प्रवर्धनमा सघाउ पु¥याउने उद्देश्यले कार्यक्रमको आयोजना गर्दै आएको महोत्सवका सहसंयोजक नरेश भट्टराईले बताए । उनले साँस्कृतिक कार्यक्रम हेर्नलाई सजिलो बनाउनका लागि लेकसाइडका चार ठाउँमा स्टेज बनाएर कार्यक्रम देखाएको बताए । उनले साझँ ६ बजे देखी राति १० बजे सम्म ति स्टेजमा साँस्कृतिक कार्यक्रम हेर्न पाइने जानकारी दिए।

लेकसाइड क्षेत्रको साढे तीन किलोमिटर क्षेत्रलाई दुलही झैं सिँगारीएको छ । अँग्रेजी नयाँ वर्ष २०२० को अवसरमा आयोजित महोत्सव अवधिभर लेकसाइड क्षेत्रका १ सय बढी रेष्टुरेण्ट तथा बारहरुको सेवा सडकबाटै लिन सकिन्छ । महोत्सवका प्रमुख आकर्षणहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको साँस्कृतीक कार्यक्रम, नेपालका लोपन्मुख साँस्कृतीक कार्यक्रम, अन्र्तराष्ट्रिय स्तरका विभिन्न खानाका परिकार, मनोरन्जनात्मक खेलकुदका कार्यक्रम, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शन लगायतका कार्यक्रम रहेका छन् ।

जनजातिहरुको साँस्कृतिक कार्यक्रमहरु, विभिन्न जिल्लाहरुका कला, सँस्कृति, भेषभूषा र हस्तकलाका सामग्रीहरुको प्रदर्शन, लोकदोहोरी गीत प्रतियोगिता, ख्यातिप्राप्त पप ब्याण्डहरुको प्रस्तुति, बालउद्यान, विभिन्न पिङ, जादुगर लगायत महोत्सवका आकर्षण रहेको महोत्सव प्रचार संयोजक विश्वराज पौडेले जानकारी दिए । सडक महोत्सव अन्तर्गत पोखराका कोमागाने पार्कमा राष्ट्रिय लोकदोहोरी कलाकार र हास्य कलाकारको प्रस्तुतीमा दर्शकहरु रमेका थिए ।

मंगलबार लोकदोहोरी तर्फ भुमिका गिरी, पार्वती जिसी, तुलसा क्षेत्री, दिलु लामा, राजु परियार, कुमार पुन, चोलेन्द्र पौडेल र राजन कार्कीको प्रस्तुती रहने छ । त्यसै गरि हास्यकलाकार पुरुषोतम भण्डारी (पुर्खे बा) हसाउने छन् । त्यसै गरि लाईभ कन्सर्ट तर्फ राजु लामा (मंगोलियन हार्ट ) र कर्मा व्याण्डको प्रस्तुती रहने छ ।

वेटर्स दौडमा कुँवर पहिलो

सडक महोत्वसको आवसरमा आयोजना भएको वटर्स दौड प्रतियोगिताको उपाधि मेड फाएभ रेष्टुरेष्टका भुमिराज कुँवरले जितेका छन् । अन्य १३ जनालाई पछि पार्दै उनले नगद ७ हजार र प्रमाणपत्र हात पार्न सफल भए । त्यसै गरि प्यराडिसोमा कार्यरत तुलसी थापा दोस्रो भए । उनले नगद ५ हजार र प्रमाणपत्र प्राप्त गरे । त्यसै गरि चिल्लीबार रेष्टुरेण्टका मिलन गुरुङले तेस्रो हुँदै नगद ३ हजार र प्रमाणपत्र जित्न सफल भए ।

त्यसै गरि वेइट्रेस प्रतियोगितमा जसमिन थाइचाइकी पुजा रसाइली पहिलो भइन् भने जसमिन थाइचाइकै पुनम पुन मगर दोस्रो भइन् । उनीहरुले क्रमस नगद ७ हजार र ५ हजार सहित प्रमाणपत्र प्राप्त गरे । त्यसै गरि जेबिस्टा क्याफेकी आकांक्ष तेस्रो भइन् । उनले नगद ३ हजार सहित प्रमाणपत्र प्राप्त गरिन् । वइट्स तर्फ ६ जनाले भाग लिएका थिए ।

प्रतियोगिताका विजेतालाई पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोख्ररेल, रेवान पोखरा अध्यक्ष भिमसेन भुजेल, पश्चिमाञ्चल होटल संघ पोखरा पुर्व अध्यक्ष गोविन्द पहारी, बोटलर्स नेपाल पोखरा मार्केटीङ म्यानेजर केपी गौतम, महोत्वसका सहसंयोजक बसन्त गौतम, प्रचार प्रसार संयोजक विश्वराज पौडेल, रेवान पोखराका सचिब विकास भट्टराई लगाएले पुरस्कार वितरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: