
काठमाडाैं । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज छलफल भएको छ । प्रतिनिधि सभाको सभामुखका लागि पार्टीका तर्फबाट उम्मेदवारको टुंगो लगाउन अध्यक्षद्वय बीच छलफल भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच सभामुखको उम्मेदवार छान्नेबारे छलफल भएको हो । नेकपा स्रोतका अनुसार उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे र पूर्वसुभामुख सुवास नेम्वाङमध्ये एक जनालाई सभामुख बनाउने गरी छलफल भइरहेको छ ।
यसअघि पूर्व माओवादी खेमाका अग्निप्रसाद सापकोटाको विषयमा पनि चर्चा थियो । नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन नसक्दा पुस ११ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित भएको थियो ।
नेकपाले उम्मेदवारको टुंगो लगाएमा भोलि बस्ने प्रतिनिधि सभा बैठकले सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नेछ । सभामुखको उम्मेदवारको टुंगो लागेपछि मात्र उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिने बताएकी छन् । उनी नै सभामुखको उम्मेदवार बन्ने अवस्थामा पनि राजीनामा दिनुपर्छ ।
संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुखविहीन छ । महरा अहिले डिल्लीबजार कारागारमा छन् ।

