
पोखरा । पोखरामा आतिसबाजी गरेर अंग्रेजी वर्ष २०२० को स्वागत गरिएको छ । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा हजारौं दर्शकको सहभागितामा आतिसबाजीसहित नयाँ वर्षको स्वागत गरिएको हो ।
रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेबान) पोखराको आयोजनामा लेकसाइडमा आयोजित २१ औं संस्करणको पोखरा सडक महोत्सवमा नयाँ वर्षको स्वागतार्थ मध्यरातमा आतिसबाजी गरिएको थियो ।
ठिक १२ बजे शुरू भएको आतिसबाजी ५ मिनेटसम्म लगातार चलेको थियो । मंगलबार दिउँसोसम्म पनि आतिसबाजी हुन्छ वा हुँदैन भन्ने अन्योल नै थियो । गृह मन्त्रालयले अनुमति दिएपछि आतिसबाजी गरेर भव्य तरिकाले अंग्रेजी नयाँ वर्षको स्वागत गरिएको हो ।
गएको वर्ष आतिसबाजी गरिएको थिएन । सम्पदा एवं पर्यावरण संरक्षण र समग्र प्राणी जगतको भलाइका लागि भन्दै गएको वर्ष अदालतमा मुद्दा दायर भएको थियो । सुरक्षा व्यवस्था बलियो बनाएर मनोरन्जनका लागि आतिसबाजी गरिने आयोजकले बताउँदै आएको थियो।
मुद्दा बारे फैसला सुनाउँदै उच्च अदालत पोखराले सडक महोत्सवमा नयाँ बर्षमा आतिसबाजी नगर्न अन्तरिम आदेश जारी गरे पछि आतिसबाजी गरिएको थिएन । नयाँ वर्षको सुरुवातको संकेतको रुपमा रातको ठीक १२ बजे आतिसबाजी गर्ने गरिन्छ ।
आतिसबाजीलाई महोत्सवको आकर्षणको रुपमा लिने गरिएको छ । रेबान पोखराको आयोजनामा पुस १२ गते शुरू भएको महोत्सव आज सकिँदै छ । ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित हरेक वर्ष लेकसाइडको तीन किलोमिटर क्षेत्रमा महोत्सव हुँदै आएको छ ।
भिडियो हेर्नुहोस्::


