
पोखरा । गण्डकी प्रदेशमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गरिएको छ । बुधबार फेवा किनारको बाराही घाटमा आयोजित कार्यक्रममा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका पर्यटकीय स्थलहरु संग्रहित भिडियो क्लिप रिमोट थिचेर प्रदर्शन गर्दै भ्रमण वर्षको शुभारम्भ गरेका हुन् । सो ४ मिनेटको क्लिपमा प्रदेशका ११ वटै जिल्लाका पर्यटकीय गन्तव्य प्रस्तुत गरिएको थियो ।
पोखराको फिस्टेल गेटबाट विभिन्न जनजातिको भेषभुषामा झाँकीसहितको बृहत र्याली बाराहीघाटमा पुगेपछि औपचारिक शुभारम्भको घोषणा गरिएको थियो । शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल भ्रमण बर्ष २०२० गण्डकी प्रदेशका संयोजक एवं गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले भ्रमण वर्ष सफल बनाउन सबै नेपाली एक हुनुपर्ने बताए ।
मन्त्री लम्सालले पर्यटन क्षेत्रबाट प्रदेशको समृद्धि सम्भव हुने जिकिर गर्दै पर्यटन क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्राथमिकता दिएको स्पष्ट पारे । ‘पर्यटन क्षेत्रबाट प्रदेशको समृद्धि सम्भव छ, त्यसैले हामीले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छौँ,’ उनले भने, ‘अहिले हाम्रो पर्यटन बल्ल प्लस टु पास गरेको विद्यार्थीहरुको र्यंकमा आएको छ, हामीले यो पर्यटनलाई ४ वर्षमा पीएचडीको हाइटमा पुर्याउनु पर्नेछ ।’
भ्रमण वर्षले नेपाललाई विश्वभर चिनाउन थप टेवा पुग्ने र सबै प्रदेशबासी एकजुट भए प्रदेशमा ५० लाख पर्यटक भित्र्याउन सकिने उनको भनाइ थियो । आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९ मा १५ लाख पर्यटकले गण्डकी प्रदेशको भ्रमण गरेको पर्यटनमन्त्री लम्सालले दाबी गरे । गण्डकी प्रदेश पर्यटनको प्रचुर सम्भावना भएको प्रदेश रहेको उनले बताए । फेवा किनारको सो कार्यक्रम स्थलमा प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यको फोटो प्रदर्शनी पनि गरिएको थियो ।










