
पोखरा । पोखरामा शुक्रबारदेखि शुरू हुने समृद्धि स्टील्स राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको छ । आयोजक पोखरा उद्योग वाणिज्य संघले बुधबार महोत्सव स्थलमा पत्रकार सम्मेलन गरेर मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने मेला पुस २८ गतेसम्म चल्ने छ ।
उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराउने तथा उद्यमशीलता सिकाउने उदेश्य बोकेको मेलाले बुधबारदेखि शुरू भएको नेपाल भ्रमण वर्ष २०२० लाई पनि टेवा पु¥याउने आयोजकको दाबी छ । मेलामा सबै गरेर २ सय ७० वटा स्टल रहने सह–संयोजक एवं पोखरा उद्योग वाण्ज्यि संघका अध्यक्ष दामु अधिकारीले जानकारी दिए ।
त्यसमा औद्योगिक क्षेत्रका उद्योगहरुबाट २० वटा स्टलसहितको छुट्टै पेभेलियन, हस्तकलाका २३, गलैँचा, बैंक तथा वित्तिय क्षेत्र, फ्लोरिकल्चरका स्टल रहने छन् । आयोजकले अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनीलाई पनि प्राथमिकता दिएको छ । आयोजकले कृषिका स्टल राख्दा छुटको व्यवस्था गरेको छ । महोत्सव सफल पार्नका लागि विभिन्न २८ वटा उपसमिति गठन गरिएको सह–संयोजक अधिकारीले बताए ।
मेला अवलोकन गर्नका लागि टिकट ६० रुपैयाँ निर्धारण गरिएको छ । विद्यार्थीले भने परिचय–पत्रको आधारमा ४० रुपैयाँमा प्रवेश पाउने छन् । नेपाल टेलिकमसँगको सहकार्यमा मेला अवलोकनकर्तालाई ६० रुपैयाँको टिकट काटेपछि ५० रुपैयाँ ब्यालेन्स भएको सिमकार्डको व्यवस्था गरिएको छ । त्यसका लागि नागरिकताको फोटोकपी र पासपोर्ट साइजको फोटो बुझाउनु पर्ने हुन्छ ।
यसबाहेक टिकट काटेर मेला अवलोकन गर्ने भाग्यशाली एकजनाले माेटरसाइकल पाउने छन् भने दैनिक एकजनालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । मेलामा लोकदोहोरी गीत प्रतियोगिता, पञ्चेबाजा प्रतियोगिता, नेपालका ख्यातिप्राप्त व्याण्डहरुको सांगीतिक प्रस्तुती रहने संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिए ।
यसका साथै खुल्ला एकल नृत्य प्रतियोगिता र हास्य कलाकारको प्रस्तुती पनि हुनेछ । मेलाको करिब १ लाख जनाले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलाबाट ७० लाख खर्च र ३० लाख बचत हुने अनुमान आयोजकको छ । मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम छ । शुक्रबार बिहान ११ बजे संघको सचिवालयबाट शुरु हुने प्रभातफेरी नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा पुगेपछि उद्धघाटन गरिने छ ।
