पोखरामा पनि मनाइयो टोपी दिवस, युवाहरूले उठाए लिपुलेक र कालापानीको विषय

Share:

पोखरा । ७ औं अन्तर्र्रािष्ट्रय नेपाली टोपी दिवस देशभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ । पोखरामा पनि युवाहरूले यो दिवस मनाएका छन् । पोखराका युवाहरूले टोपी दिवस मनाउँदै केही समयदेखि सेलाएको लिपुलेक र कालापानी विषयलाई पुन उठाएका छन्।

पछिल्लो राजनितिक अवस्था, सरकार विस्तारलगायतका विषयहरुले स्थान लिँदा भारतले मिचेको नेपालको भुमी लिपुलेक र कालापानीको मुद्दा सेलाएको अवस्थामा नेपाल टोपी प्रतिष्ठान गण्डकीले ढाका टोपी लगाएर प्रदेश सरकार समक्ष नेपाली भूमिको विषय उठाएको हो।

प्रतिष्ठान गण्डकीले प्रदेश प्रमुख अमिक शेरचनलाई नेपाली टोपी लगाएर लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूभाग बारे जिज्ञासा राखेको थियो । जिज्ञासामा प्रदेश प्रमुखले सरकारको माथिल्लो स्तरवाटै उक्त भूमि बारे राष्ट्रिय मुद्दा बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए।

यस्तै एक कार्यक्रमका बीच प्रतिष्ठानका युवाहरुले प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित मन्त्रीहरु, सभामुख नेत्रनाथ अधिकारी, प्रदेशका सांसदहरु र पोखरा महानगरका मेयर मान वहादुर जिसी लगायतलाई नेपाली टोपी लगाइदिएका थिए ।

नेपाल भ्रमण वर्ष २०२० को सुरुवातसँगै हवाई माध्यमबाट पोखरा भित्रिएका अन्तर्राष्ट्रिय पर्यटकहरुलाई नेपाली ढाका टोपी लगाएर पोखरामा स्वागत गरेको प्रतिष्ठानका अध्यक्ष महेश्वर सिंह भण्डारीले जानकारी दिए। विगत ६ वर्षयता नेपाली युवाहरुले अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ तारिखलाई ढाका टोपी दिवसका रुपमा मनाउँदै आएका छन् । यो वर्ष ७ औं दिवस मनाइएको हो ।

नेपाली टोपी दिवस मनाउनुको प्रमुख उद्देश्य, नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली नागरिक एवं नेपालीमूलका नागरिकहरुको अन्तर्रा्ष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु र राष्ट्रियता वचाउनु रहेको प्रतिष्ठान गण्डकीका सचीव सचिन रानाभाट बताउँछन्।

ढाका टोपी नेपाली पहिचान हो। नेपाल भाषामा काँचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ। म्हपुजा र भाइटीका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ । त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको हो ।

ढाका टोपीको ढाका शब्दलाई बंगलादेशको राजधानी ढाकासँग जोडेर ढाका टोपीलाई नेपालको आफ्नै होइन, आयातित हो, बंगलादेशको राजधानी ढाकाबाट ल्याइएको कपडा वा प्रविधिबाट उत्पादित कपडाबाट बनेको हो भनेर गलत प्रचार गरिएको छ। जून एउटा अपभ्रम र मिथ्या मात्रा हो। पछिल्लो समय नेपालमा यो दिवस मनाउनेहरु बढिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: