उखु किसानलाई घर फर्कन उद्योगमन्त्री भट्टको आग्रह

Share:

काठमाण्डाै – किसानको भुक्तानी गर्न चीनी मिल सञ्चालकलाई निर्देशन दिइसकेको भन्दै काठमाण्डौको माइतीघरमा प्रर्दशन गरिरहेका उखु किसानलाई घर फर्कन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले अपिल गरेका छन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा समय मागेर सरकारका तर्फबाट धारणा राख्दै मन्त्री भट्टले उखु किसानका समस्या समाधान नभए किसानले बोलाएको ठाउँ र समयमा उपस्थित हुने प्रतिबद्धता व्यक्त गर्दै प्रर्दशनमा आएका सबै किसानलाई घर फिर्ता जान आग्रह गरेका हुन्।

उनले यो वर्ष कुनै पनि अवस्थामा उखु किसानका सम्पूर्ण समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए। मन्त्री भट्टले अन्नपूर्ण सुगर मिल र इन्दिरा सुगर मिलका सञ्चालक राकेशकुमार अग्रवाल मन्त्रालयको टेलिफाेन सम्पर्कमा आएको तथा महालक्ष्मी सुगर मिल प्रालिले पुस २५ गतेभित्र सबै उखु किसानको बाँकी बकौता भुक्तानी गर्ने लिखित प्रतिबद्धता गरेको पनि जानकारी दिए।

त्यसैगरी श्रीराम सुगर मिलले किसानको रकम भुक्तानी गर्न सहजीकरणका लागि मन्त्रालयमा अनुरोध गरेकाले अब किसानका समस्या छिट्टै समाधान हुने बताए।

कमेन्ट गर्नुहोस्
Share: