
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संसदीय समितिबाट बहुमतले पारित भएको सूचना तथा प्रविधिसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका विषयमा सत्यलाई छोपेर अनावश्यक हल्ला चलाएकोमा आपत्ति जनाएका छन् ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सामाजिक सञ्जालका प्रत्येक प्रयोगकर्ता दर्ता गर्नुपर्ने भनेर भ्रम फैलाइएको बताए । उनले भने, ‘यसमा म ठाडै खारेज गर्छु ।’
सञ्चारमन्त्री बाँस्कोटाले सामाजिक सञ्जालमा कसैलाई होच्याए, जिस्क्याएमा पनि ५ वर्षसम्म जेल र १५ लाखसम्म जरिवाना गर्ने व्यवस्थालाई लिएर पनि झुटो प्रचार भएको बताए । ‘त्यहाँ निरन्तर भन्ने शब्द लुकाइएको छ’ उनले भने ।
मन्त्री बास्कोटाले नियतहरुसँग लड्न नसकिने उल्लेख गर्दै नेपालमा दिनानुदिन सामाजिक सञ्जाल प्रयोगकर्ता पनि सयंम र मर्यादित हुनुपर्ने बताएका छन् । उनले केही पत्रकारले आफूलाई आफ्नो निजी जीवनलाई नै प्रभावित गर्ने गरी सामाजिक सञ्जालमा लेखेकोप्रति आपत्ति जनाए
सूचना प्रविधि विधेयक डिजिटल हस्ताक्षर, साइबर सुरक्षा र विद्युतीय माध्यमबाट हुने हिंसा नियन्त्रण गर्नतर्फ पनि लक्षित भए पनि यसतर्फका बहस नभएको उनले बताए ।
सरकारले चार जना इजिप्सियन नागरिकलाई देश निकाला गर्ने निर्णय गरेको छ। गैरकानुनी रूपमा लामो समयदेखि नेपालमा बसोबास गर्दै आएका चार जना नागरिकको भिसा दस्तुर तथा बिलम्ब शुल्क चार हजार छ सय ४० अमेरिकी डलर र जरिवाना दुई लाखसमेत मिनाहा गरी उनीहरूलाई नेपालबाट निष्कासन गर्ने निर्णय भएको हो।
यस्तै उनले चिनीको कृत्रिम अभाव र कालोबजारी गर्ने काम भइरहेको र यसलाई रोक्ने काम सरकारले गर्ने समेत बताए। उनले उखु किसानको समस्या क्रोनिकजस्तो बनेको बताएका छन् । उनले उखु कृषकको समस्या हरेक साल उठ्दै आउने विषय बनेको बताएका हुन् ।
