
काठमाडौं– अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुङ्गानाविरुद्ध ४ करोड ६८ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सार्वजनिक सेवामा रहँदा अवैधानिक रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिव ढुङ्गानाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले गरेको छानबिनका क्रममा १९ साउन २०४९ मा सरकारी सेवामा प्रवेश गरेका ढुङ्गानाले त्यसयता विभिन्न क्षेत्रमा गरी कूल ५ करोड ४८ लाख ३ हजार ३ सय ५१ रुपैयाँ खर्च तथा लगानी गरेका देखिएको छ ।
तर, उनले त्यस अवधिमा ७९ लाख ५४ हजार ७ सय ९५ रुपैयाँ मात्रै वैध रुपमा आम्दानी गरेको देखिएको अख्तियारले जनाएको छ । उनले गरेको खर्च तथा लगानीमध्ये ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँको स्रोत नखुलेका कारण अख्तियारले सोही रकम बराबर बिगो दावी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
