
काठमाडाैं । सरकारले चिनी मिलबाट उखु किसानले प्राप्त गर्नुपर्ने सम्पूर्ण बक्यौता आगामी माघको पहिलो साताभित्र उठाइदिने विश्वास दिलाएको छ । रिपोर्टर्स क्लब नेपालद्वारा शुक्रवार आयोजित साक्षात्कारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु किसानले उठाएका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेकाले शंका नगर्न आग्रह गरे ।
चिनी मिलबाट उखु बिक्रीवापत पाउनुपर्ने भुक्तानी लामो समयदेखि नपाएपछि उखु किसान केही दिनदेखि काठमाडौंको माइतीघरमा आएर सरकारको ध्यानाकर्षणका लागि भद्र प्रदर्शनी गर्दैछन् । ‘किसानले मिलबाट प्राप्त गर्नुपर्ने रकममध्ये ८० प्रतिशत यही पुस मसान्त र बाँकी सबै रकम माघको पहिलो साताभित्र उपलब्ध गराउन सरकारले मिल सञ्चालकलाई कडा निर्देशन गरिसकेको छ । तपाईंहरू ढुक्क भएर घर फर्किए हुन्छ,’ उनले भने ।
सो अवसरमा संघर्षमा रहेका किसानले सरकारका प्रतिनिधिसँग पटक–पटक वार्ता गरे पनि माग सम्बोधन नभएको हुँदा यसपटक लिखित सहमति नभएसम्म घर नफर्कने अडान सुनाए । उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले भने, ‘मन्त्रीज्यूको मिहिनत र प्रयासले हामीलाई विश्वास त दिलाएको छ तर लिखित सम्झौता नभएसम्म हामी घर फर्कदैनौं, विगतमा हामीलाई धोका भएको छ, हामी निरीह छौं ।’
भुक्तानी बाँकी रहेका केही चिनी मिल सञ्चालकले किसानलाई रकम उपलब्ध गराउने कार्य थालिसकेको जानकारी दिँदै मन्त्री भट्टले मुलुकमा सञ्चालनमा रहेका १३ मध्ये ३ चिनी मिलमा मात्र किसानको बक्यौता रहेको पाइएको बताए । सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५३६ रुपैयाँ तोक्नुका साथै किसानलाई प्रतिक्विन्टल ६५.२८ रुपैयाँ पैसा अनुदान उपलब्ध गराउँदै आएको छ ।
मुलुकलाई आवश्यक पर्ने २ लाख ४० हजार मेक्ट्रिक टनमध्ये स्वदेशी चिनी मिलबाट १ लाख ७५ हजार मेक्ट्रिक टन चिनी उत्पादन हुँदै आएको छ । चिनी उद्योगको मागअनुरुप सरकारले चिनी आयातमा भन्सार राजस्व बढाएर रोकसमेत लगाएको छ ।
