
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसीरहेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । सभामुखको उम्मेदवार र आगामी केन्द्रीय समिति बैठक सचिवालय बैठकको मुख्य एजेण्डा भएको बालुवाटार स्रोतले बतायो ।
सत्तारुढ नेकपाले सभामुखका विषयमा टुंगो लगाउन नसक्दा संसद बैठक सरेको स¥यै छ। कृष्णबहादुर महरा यौनदुर्व्यवहारको आरोपमा पक्राउ परेपछि उक्त पद रिक्त रहेको छ। सभामुखमा उपसभामुख शिवमाया तुम्बाहङ्फेले दाबी गर्दै आएकी छन् भने नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कसलाई समामुख बनाउने भन्ने बारेमा निर्णय भएको छैन्। ओली पूर्वसभामुख सुवासचन्द्र नेम्बाङलाई सभामुख बनाउने पक्षमा छन् भने प्रचण्ड अग्नीप्रसाद सापकोटालाई सभामुख बनाउने पक्षमा देखिएका छन्।
यसैबीच नेकपाले यही पुस २३ गते बोलाइएको केन्द्रीय समितिको बैठकलाई पछि सार्ने तयारी गरेको छ । राष्ट्रियसभा निर्वाचन र सभामुखको उम्मेदवार चयनमा नेताहरु व्यस्त हुनुपर्ने कारण देखाउँदै बैठक स्थगित गर्ने तयारी भइरहेको हो ।
