राष्ट्रिय सभा निर्वाचनका लागि नारायणकाजी र भगवतीले उम्मेदवारी दर्ता गराए

Share:

पोखरा । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा उम्मेदवार नारायणकाजी श्रेष्ठले निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । पार्टीका केन्द्रिय प्रवक्ता रहेका उनले पोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार मनोनयन दर्ता गराएका छन् ।

श्रेष्ठको प्रस्तावकमा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत र समर्थकमा प्रदेशसभा सदस्य दिलमाया रोका छन् ।

यस्तै भगवती न्यौपानेले पनि निर्वाचनका लागि मनोनयन दर्ता गराएकी छन् । उनको प्रस्तावकमा नेकपा स्थायी समिति सदस्य एवं प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङ छन् भने समर्थकमा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ छन् ।

माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि नेकपाले दुवैलाई गण्डकी प्रदेशबाट उम्मेदवार बनाएको थियो । गएको आम निर्वाचनमा श्रेष्ठ डा बाबुराम भट्टराईसँग ६ हजार ८ सय ७४ मतले पराजित भएका थिए ।

२०७४ सालको आम निर्वाचनमा उनी प्रतिनिधि सभाका लागि गोर्खा क्षेत्र नम्बर २ बाट लडेका थिए । यस्तै नेतृ न्यौपाने गएको स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेबाट मेयर पदमा चुनाव लडेकी थिइन्।

तनहुँको भानु नगरपालिकाको मेयर पदमा चुनाव लडेकी उनी कांग्रेसका उम्मेदवार उदयराज गौलीसँग ४ सय ५१ मतले पराजित भएकी थिइन्।

कमेन्ट गर्नुहोस्
Share: