

पोखरा । पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका उत्पादनका स्टलहरु रहेका छन् । औद्यागिक उत्पादनदेखि घरायसी सामानहरुको किनमेलको लागि मेला उपयुक्त थलो भएको आयोजक पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष सुरेन्दमान विजुक्छेले जानकारी दिए ।
‘मेलामा साबुनदेखि घरायसी प्रयोगमा आउने सबै सामानहरु राखिएका छन्’, उनले भने, ‘कृषिजन्य उत्पादन, जडिबुटी, भाँडाकुडा तथा औद्योगिक उत्पादनहरुको प्रदर्शनी तथा बिक्री मेलाको विशेषता हो । पोखराको औद्योगिक क्षेत्रमा उत्पादित औद्योगिक उत्पादन, दोलखाको जिरीमा रहेको सर्वखास अर्गानिक कृषि फारामबाट उत्पादन भएको किबीदेखि महेन्द्रनगरमा उत्पादन भएको सतिशालका भाँडाहरुले मेला साँच्चिकै प्रदर्शनी तथा बिक्रीको थलो भएको उनको जिकिर थियो ।
यसैगरि मेलामै विभिन्न ब्राण्डका गाडी तथा मोटरसाइकलको प्रदर्शनी पनि समेटिएको छ । मेलाअन्तर्गत आयोजित सांगीतिक कार्यक्रमले पनि अवलोकर्तालाई विशेष मनोरञ्जन प्रदान गरेको छ । सोमबार लोकदोहोरी गायक÷गायिका जुना श्रीस मगर, तारापति सुवेदी, राजेन्द्र सापकोटा, मधु चापागाईँ कुमार पुन, ईश्वर सिँह तथा हाँस्य कलाकार निर्मल र प्याकुलीको प्रस्तुति रह्यो । ओम गुरुङ र लक्ष्य ब्याण्डको प्रस्तुति पनि दमदार रह्यो ।
मंगलबार लोकदोहोहीतर्फ राधिका हमाल, सविना गुरुङ, सरस्वती लामिछाने, रिता कार्की कुँवर, शंकर विरही गुरुङ, शिवहरि ढुंगाना, केशव देवकोटा, परशुराम अधिकारी, पपतर्फ सुमित ग्रुप, देउराली ब्याण्ड, हाँस्यतर्फ पोखरेली धुर्मुस र माग्ने बूढाको प्रहसनसहित लोकदोहोरी तथा पञ्चेबाजा प्रतियोगिता एवं खुल्ला एकल नृत्य प्रतियोगिता पनि रहने साँस्कृतिक उपसमितिका संयोजक सोवित पौडेलले जानकारी दिए ।
संघका महासचिव अर्जुन पोखरेलका अनुसार सोमबार पनि करिब १० हजार जनाले मेलाको अवलोकन गरे । मेला समुद्घाटनका दिन तय गरिएको प्रभातफेरी पनि सोमबार नै सम्पन्न भएको र त्यहाँ १२० वटा आमा समूह, टोल विकास संस्था तथा बस्तुगत संघहरुको उपस्थिति रहेको संघकी उपमहासचिव चिनुकुमारी गुरुङले जानकारी दिइन् । प्रभातफेरीमा सहभागि आमा समूह र टोल विकास संस्थामा चिउली पार्चै आमा समूह पहिलो भयो भने बस्तुगत संघतर्फ सिटी रेवानलाई उत्कष्ट घोषित गरियो ।
यता मेलाको प्रवेश टिकटअन्तर्गत दिइने लक्की ड्रमार्फत दिइने पौष २१ गते सोमबारको प्रवेश टिकटको प्याराग्लाइडिङ उडान पुरस्कार विजेता टिकट नम्बर ४१९६ तथा ३२ इञ्चको टेलिभिजन विजेता टिकट नम्बर ३६२७ ले प्राप्त गरेको टिकट व्यवस्थापन उपसमिति संयोजक बलराम आचार्यले जनाए । मेला पुसको २८ गतेसम्म जारी रहने छ ।


