

पोखरा। पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज (शुक्रबार) हाँस्य कलाकार मनोज गजुरेलको विशेष प्रस्तुति रहने भएको छ । नियमित खुल्ला एकल नृत्य प्रतियोगिता तथा लोकदोहारीपछि मनोज मञ्चमा उक्लने आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले जानकारी दिए ।
यसैगरि मेलामा साँझ फेसन सोको पनि राखिएको छ । विभिन्न डिजाइनहरुले तयार पारेका पोशाकसहित मोडलहरु ¥याम्पमा उतार्ने तयारी गरिएको साँस्कृतिक उपसमिति संयोजक सोवित पौडेलले जानकारी दिए । यता विहीबारसम्म करिब ५८ हजार जनाले मेलाको अवलोकन गरेका संघका महासचिव तथा प्रचार–प्रसार उपसमिति संयोजक अर्जुन पोखरेलले जनाए ।
शुक्रबार लोकदोहोरीतर्फ वविता बाँनिया, ( जेरी) , विक्रम परियार, दिलु लामा, केशव घिमिरे,प्रेम बस्याल, पार्वती गुरुङ, प्रेमराज अधिकारीलगायतको प्रस्तुति रहनेछ । विहीबार चर्चित लोकगायक प्रकाश सपुतको विशेष प्रस्तुतिमा दर्शकहरु झुमे । आधुनिक गायक राज सिग्देलले पनि सहभागिलाई भरपुर मनोरञ्जन दिए ।
