पोखरामा गण्डकी प्रदेश स्तरीय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुने

Share:

पोखरा । पोखरामा १९ औँे माछापुच्छ्र्र्र्र«े गण्डकी प्रदेश स्तरीय फुल कन्ट्याक्ट कराँते तथा प्रथम क्योकुशिन कान कराँते प्रतियोगिता हुने भएको छ ।

नेपाल क्युकोसिन कान कराँते संघ कास्कीको आयोजनामा पुस २९ गते पोखरा रंगशाला र माघ १ गते ढुङ्गेसाँघुमा हुनेछ । प्रतियोगितामा १ सय ५० खेलाडी सहभागी हुने आयोजकले अनुमान गरेको छ ।

पुरुषतर्फ २५,३०,३५,४०,४५,५०,५५ र ६० केजी मुनि र खुला तौल समूह गरी ९ तौल समुहमा प्रतियोगिता आयोजना हुने छ । महिलातर्फ ३५,४०,४५,५० र खुला तौल गरी ५ तौल समूहमा प्रतियोगिता आयोजना हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हात पार्ने खेलाडीलाई सिल्ड, मेडल, प्रमाणपत्र र खादाले सम्मान गरिनेछ । यस संघका खेलाडीले ८ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ४ पदक जितेको पनि आयोजकले जनाएको छ ।

प्रतियोगिता आयोजना गर्न ७ उपसमिति गठन गरिएको छ । प्रतियोगितालाई लक्षित गर्दै अर्थ संकलन उपसमिति, अफिसियल तथा खेल संयोजक उपसमिति, यातायात तथा खाजा खाना उपसमिति, स्वयंसेवक उपसमिति गठन गरिएको छ । साथै मञ्च तथा साउन्ड सिस्टम व्यवस्थापन समिति, अतिथि सत्कार उपसमिति र पुरस्कार व्यवस्थापन उपसमिति समेत गठन गरिएका छन् ।

यस प्रतियोगिता मार्फत २ लाख रुपैँया बचत गरी खेलाडीलाई आवश्यक खेल सामाग्री खरिद गर्ने योजना आयोजकको रहेको छ । आयोजकले अघिल्लो संस्करणको प्रतियोगितामा ८० हजार रकम बचत गरी ५ लाख रुपैँया बराबरको खेल सामाग्री खरिद गरेको दावी गरेको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: