
काठमाण्डाै – आउँदाे वैशाखसम्ममा सक्नेगरी ऐतिहासिक रानीपोखरीको पुनःनिर्माणको काम तीव्ररुपमा अघि बढेको छ । अहिले पोखरीमा कालोमाटो लगाउने, पर्खाल र मन्दिरमा जाने पुल निर्माण र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम निकै अघि बढिसकेको छ ।
पोखरीको ४६ प्रतिशत काम सकिएको छ । पोखरीलाई सुन्दर बनाउने काम २२ प्रतिशत सकिएको पुनःनिर्माण प्राधिकरणले जानकारी दिएको छ । पोखरीमा अहिले गोकर्णबाट ल्याइएको माटो धमाधम लगाउने काम भइरहेको छ । त्यसपछि इँटा लगाउने तयारी छ । हाल ६० कामदारले काम गरिरहेका छन्
गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काममा तीन वर्ष ढिलाइ भएकोमा प्राधिकरणले जिम्मा पाएपछि कामले गति लिएको हो ।
निधारीत समयमै सक्नेगरी कामले गति लिएको प्राधिकरणको दाबी छ । माघ अन्तिम सातासम्ममा पर्खाल लगाउने र पोखरीमा कालोमाटो राख्ने कामले पूर्णता पाउने प्राधिकरणले जनाएको छ ।
मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनःनिर्माण गर्नेगरी प्राधिकरणलाई जिम्मेवारी दिइएको थियो । मन्दिर पुरानै शैली (ग्रन्थकुट/शिखर) मा पुनःनिर्माण गर्न गत असार २४ गते प्राधिकरणले १० महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी तुलसी कन्स्ट्रक्शन जेभीसँग सम्झौता गरेको हो ।

