

काठमाडौं- अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टटिभ्सले राष्ट्रपति डोनल्ड ट्रम्पसँग भएको इरानसित युद्ध शुरु गर्ने अधिकार सीमित पारिदिने प्रतिकात्मक प्रस्ताव स्वीकृत गरेको छ ।
डेमोक्रयाटिक पार्टीको बहुमत भएको संसद्मा यो प्रस्ताव २२४–१९४ मतले पारित भएको हो । रिपब्लिकन पार्टीको बहुमत भएको माथिल्लो सदनमा मतदान हुन बाँकी छ ।
यो प्रस्तावका अनुसार अमेरिकाविरुद्ध आक्रमण भएको खण्डमा बाहेक इरानसित हुने सबै द्वन्द्वबारे निर्णय गर्दा कङग्रेसको अनुमोदन आवश्यक हुनेछ ।
बिहीवार तल्लो सदनले गरेको निर्णयले कङग्रेसले स्वीकृति नदिएसम्म राष्ट्रपति ट्रम्पलाई इरानविरुद्ध अमेरिकी सेना प्रयोग नगर्न निर्देशन दिएको छ । तर अमेरिकाविरुद्ध आसन्न सशस्त्र आक्रमणको प्रतिकार गर्न छुट दिइएको छ ।
दुवै सदनमा प्रस्तुत यो प्रस्तावमा राष्ट्रपतिको हस्ताक्षर चाहिँदैन र कङ्ग्रेसबाट पारित भए पनि उक्त प्रस्तावविरुद्ध ट्रम्पले राष्ट्रपतीय विशेषाधिकार प्रयोग गर्नेछैनन् ।

