

पोखरा । शिव शिखर कृषि सहकारी संस्था लिमिटेड पोखरामा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्यागिक व्यापार मेलामा जोडिन पुग्यो । सहकारीको उपकार ब्राण्ड मेलाको सहप्रायोजक हो ।
७ वर्षअघि स्थापना भएको यो सहकारीसँग ‘कृषि’ भन्ने फुर्को जोडिएको छ । देशमा भएका विभिन्न सहकारीहरु ‘कृषि’ फुर्को जोडेर निक्षेप संकलन र कर्जा प्रवाहमा व्यस्त हुँदा शिव शिखरले भने नाम अनुसारकै काम गरेको छ ।
‘हामी कर्जा प्रवाह र निक्षेप संकलनभन्दा पनि किसानसँग जोडिएका छौँ,’ सहकारीका प्रबन्ध निर्देशक सुशील बाँनियाले भने,‘ हामी कृषिसँग जोडिएका सामानहरु किसानलाई उपलब्ध गराउँछौँ र ऋण पनि प्रवाह गर्छौँ ।’ उनका अनुसार सहकारीले पावर टेलर, मिनी टेलर, घाँस काट्ने मेसिनदेखि पानी तान्ने पम्पसम्म किसानलाई उपलब्ध गराउँछ ।
शिखर र एभरेष्ट ब्राण्डका ती सामानहरु चीनबाट आयात गरिन्छ र सहुलियत दरमा किसानलाई दिइन्छ । सहकारीले बाँकेको कोहलपुरमा करिब २५ बिघा जग्गामा कृषि अनुसन्धान केन्द्र नै खोलेको छ । बानियाँका अनुसार कृषि केन्द्रमा तरकारी,खाद्यबाली तथा मासुमा प्रयोग हुने पशुहरुको अनुसन्धान गरिन्छ ।
‘हामीले त्यहाँ बाख्रा पालेका छौँ, बढी आम्दानी दिने बोका खसीको हाइब्रिड उत्पादन तथा कडकनाथ कुखुरामा पनि अनुुसन्धान एवं उत्पादनको प्रयत्न भएको छ’, उनले भने,‘किसानलाई बीऊ र बाख्राका पाठा उपलब्ध गराउने तथा किसानका उत्पादन किन्ने काम पनि हामीले गरेका छौँ ।’ त्यहाँ कृषि प्राविधिकहरु नै काम गर्छन् । किसानबाट बीऊ र अन्य कृषि उत्पादन खरिद गर्छ, सहकारीले । किसानका खाद्य उत्पादनहरुलाई उपकार ब्राण्ड दिइएको छ ।
उपकार ब्राण्डकै नाममा सहकारीले नै संचालन गरेको अर्को कम्पनी शिव शिखर एग्रो प्रालिले अन्य खाद्यान्न पनि बजार पठाउँछ । मान्छेको भान्सासँग जोडिएका ती खाद्यान्नहरु कति किसानबाट किनिन्छ भने कतिपय आयात नै गर्नुपर्छ । बाँनियाले किसानलाई उत्पादनसँग जोड्ने उदेश्यमै सहकारी समर्पित भएको भन्न पनि भुलेनन् ।
उनका अनुसार सहकारीमा करिब ५ हजारजति किसानहरु जोडिएका छन् । ३५ जिल्लालाई कार्यक्षेत्र बनाउने इजाजत पाएको सहकारीका भक्तपुर, बाँकेको कोहलपुर,धनगढी, डडेल्धुरा तथा पोखरामा कार्यालय रहेका छन् । करिब २२ सयले रोजगारी पाएका छन् । पोखरामा भने सहकारी भर्खरै आएको हो । पोखरामा पनि कोहलपुरमा जस्तै फार्महाउस खोल्ने योजना सहकारीको रहेको छ ।
५ करोड चुक्ता पूँजी रहेको सहकारीले यो वर्ष आफूलाई १० करोड चुक्ता पूँजी भएको बनाउँदैछ । ‘हामी कम्तिमा सहकारीमार्फत नेपालमै रोजगारी सृजना गर्न चाहन्छौँ’, बानियाँले आत्मविश्वासका साथ भने,‘सहकारीसँग जोडिनु भनेको आर्थिक क्रियाकलापसँग जोडिनु पनि हो र फाइनान्सिङमा जोडिँदा मान्छे अनुशासित पनि हुन्छ ।’
उनले शिव शिखर सहकारी पोखरा उद्योग वाणिज्य संघसँगको मेलामा सहकार्यको उदेश्य पनि मानिसहरुलाई उत्पादनमा जोड्नु भएको बताए । ‘खासमा हामी कृषिसँग जोडिएर देशमा उत्पादन बढाउन चाहन्छौँ’, बाँनियाले भने,‘हामी गुणस्तरमा ध्यान दिन्छौँ र हाम्रा उत्पादनमार्फत जनवास्थ्यमा खेलबाड गर्दैनौँ ।’



