
चितवन । चितवन, तनहुँ र नवलपरासीको संगमस्थल देवघाटमा माघे संक्रान्ति मेला शुरू भएको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार मेलालाई व्यवस्थित बनाइएको छ । विभिन्न उपसमितिमार्फत मेला व्यवस्थापन गरिएको छ ।
आपत्कालीन उद्धारका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा छन् भने डुङ्गासहितको उद्धार टोली तैनाथ छ । नेपाली सेना पनि उद्धारमा जुट्ने जनाइएको छ । चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुलको मर्मतसम्भार गरिएको छ । पुलमा लामबद्ध भएर जान र आउनका लागि स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरिएका छन् ।
नदीमा नुहाउन मिल्ने ठाउँ पहिचान गरी सीमांकन गरिएको छ । संक्रान्तिको अघिल्लो रात आज धाममा भक्तजन दीप प्रज्वलन गरी भजनकीर्तनमा सरिक हुनेछन् । ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ भनिएको हो ।
