
पोखरा । पोखरा महागनरपालिका वडा नम्वर ५ र ६ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो । केन्द्रको पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले आइतबार उद्घाटन गरिन् । दुवै वडामा केन्द्र उद्घाटनपछि बोल्दै उपप्रमुख गुरुङले न्याय प्रदान गर्ने विषय कठिन रहेको बताइन् । उनले न्याय सम्पादन गर्दा निष्पक्ष, तटस्थ र स्वतन्त्र रुपमा गर्नुपर्नेमा जोड दिइन् । उपप्रमुख गुरुङले विवाद समाधानको उत्तम विकल्प मेलमिलाप भएको बताउदै आस्थाका आधारमा पूर्वाग्रह राखेर नभई विवादका पक्षहरुको मन मिलाउने गरी गर्नुपर्नेमा जोड दिइन् । उनले अदालतमा मुद्धामा जादाँ निवेदन लेखनबाटै आर्थिक भार पर्ने बताउदै भनिन, महानगरमा एक सय रुपैयाँमा न्याय सम्पादन हुने बताइन् ।‘विवाद दर्ता गर्न एक सय रुपैयाँ लाग्छ, त्यसपछि कुनै शुल्क लाग्दैन ।’
न्यायिक समितिका सदस्य किशोर बरालले न्यायिक समितिका गठन, समितिको क्षेत्राधिकार, समितिले हालसम्म गरेका काम र आगामी योजनाका बारेमा जानकारी गराए । उनले न्यायिक समितिले १३ वटा विवाद फैसला गर्न पाउने र ११ वटा विवादमा मेलमिलाप गराउन सक्ने व्यवस्था संविधानले गरेको बताउदै न्यायिक समितिको अधिकार क्षेत्र र मेलमिलापकर्ताको काम,कर्तब्य र अधिकार बारे जानकारी गराए ।
पोखरा ५ का अध्यक्ष धनबहादुर नेपालीले वडामा सकेसम्म विवाद नहोस र भएपनि वडा तहबाटै समाधान गर्नुसकियोस भने । उनले मेलमिलापकर्ता खुशी हसिलो हुनुपर्ने बताउदै समाजमा शान्ति स्थापना भए विकासमा सहज हुने बताए । मेलमिलापक केन्द्र स्थापनाले विवाद समाधानमा सहज हुने बताउदै निष्पक्ष र स्वतन्त्र रुपमा काम गर्न मेलमिलापकर्तालाई आग्रह गरे । वडा नम्वर ६ मा वडा अध्यक्ष जगबहादुर पहारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस वडा सभापति बलराम गिरी, मेलमिलापकर्ता पम्फा पहारी, नागरीक समाज पोखराका अध्यक्ष विष्णुहरी अधिकारी लगायतले बोलेका थिए ।
कार्यक्रममा नेकपा पोखरा ५ का गायत्री भुर्तेल, नेपाली काँग्रेस ५ का प्रतिनिधि झोला पराजुली, मेलमिलापकर्ता सृजना शाह लगायतले मेलमिलापक केन्द्र स्थापनासंगै वडातमै नागरिकले न्याय पाउने वातावरण सृजना गर्नुपर्नेमा जोड दिए । पोखरा ५ का अध्यक्ष धनबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महानगर कानुन महाशाखाका कानून अधिकृत राममणी अधिकारीले गरेका थिए ।
न्यायिक समितिले महागनरका ३३ मध्य १७ वटा वडामा मेलमिलाप केन्द्र स्थापना गरेको छ । न्यायिक समितिले वडा तहका विवाद वडामै मेलमिलाप मार्फत समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना गर्नसक्ने व्यवस्था गरेको छ ।महानगरमा १७४ जना मेलमिलापकर्ता सुचिकृत भएका छन् ।

