पाँचौ मिस तामाङ पोखराको ग्राण्ड फिनाले शनिबार पोखरा सभागृहमा

Share:

पोखरा । पाँचौ संस्करणको मिस तामाङको ग्राण्ड फिनाले आउँदो शनिबार हुने भएको छ । आयोजक बैदाम तामाङ सेवा समाजले बिहिबार पोखरामा पत्रकार सम्मलेन गरेर हरेक बर्ष सोनाम ल्होसारको अवसरमा हँदै आइरहेको ल्होसार म्युजिकल फेस्टिभलको सातौ संस्करण तथा मिस तामाङ पोखराको ग्राण्ड फिनाले शनिबार हुने जानकारी दिएको हो ।

प्रतियोगितमा १७ जना प्रतियोगीहरुले सहभागिता जनाउने प्रतियोगिता संयोजक कविता योञ्जनल जानकारी दिइन् । सहभागीहरुलाई ४५ दिन लामो व्यक्तित्व, नेतृत्व, भाषा, कला, संस्कार, इतिहास तथा धर्मका विषयमा प्रशिक्षण गराइएको छ । आधुनिकताको नाममा युवा पुस्ता माझ बढ्दो साँस्कृतिक अतिक्रमणको चपेटामा परेको मौलिक भाषा र संस्कृतिको जगेर्नाका लागि यो कार्यक्रमले टेवा पुग्ने विश्वास आयोजकको छ ।

कार्यक्रम पोखरा सभागृहमा मध्यान्ह १२ बजेबाट शुरु हुने समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए । युवा पुस्तामाझ तामाङ संस्कृति हस्तान्तरण र जानकारी आजको अपरिहार्य आवश्यकता रहेकोले नै कार्यक्रमको आयोजना गरिएको प्रतियोगिता संयोजक योञ्जनले बताइन् । प्रतियोगिताको विजेताले ताजसँगै ट्रफी, प्रमाणपत्रसहित रु एक लाख नगद, म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस्तै फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने संयोजक योञ्जनले जानकारी दिइन् । त्यस्तै सेकेण्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भ्युवर्स च्वाइसका रुपमा एक जनाले नगद २० हजार प्राप्त गर्नेछन् । कार्यक्रमको प्रमुख निर्णायकमा कलाकार तथा नेपाल एयरलायन्सका क्याप्टेन विजय लामा रहनेछन् भने चर्चित कलाकार सोनाम तोप्डेनको प्रस्तुती रहने छ ।

कमेन्ट गर्नुहोस्
Share: