बिजिनेसमा घाटा भएपछि दुई बच्चासहित एक दम्पतीे त्रिशूलीमा हाम फाले

Share:

धादिङ । धादिङमा एक दम्पतीले दुई बच्चासहित झलुंगे पुलबाट त्रिशूलीमा हाम फालेका छन् । बिहीबार साँझ साढे ६ बजे बेनिघाट रोराङ–१ स्थित झोलुङ्गे पुलबाट ६ महिना र २ वर्षका दुई छोरासहित काठमाडौंको चन्द्रागिरि नगरपालिकाका विनय लामिछाने र उनकी श्रीमती जमुनाले नदीमा हाम फालेका हुन्।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार जमुनाको मृत्यु भएको र दुई बच्चा बेपत्ता रहेको छ । विनयको भने उद्धार गरिएको छ । हामफालेर पनि बच्न सफल विनयले बिजिनेसमा घाटा भएपछि सपरिवार मर्ने निर्णय गरेर त्रिशूलीमा हाम फालेको बताएका छन्।

अहिले गजुरी इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका लामिछानेले अनलाइन बिजिनेसमा घाटा भएपछि परिवारै मर्ने निर्णय गरेर त्रिशूली नदीमा हामफालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको धादिङ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।
विनयको थानकोटस्थित डेरामा सुसाइड नोट पनि फेला परेको खबर आएको छ,’ एसपी रेग्मीले भने, ‘हामी थानकोट प्रहरीसँग समन्वय गरिरहेका छौं।’

एसपी रेग्मीका अनुसार सुसाइड नोटमा उनले कमोडिटी अनलाइन बिजिनेसमा घाटा भएपछि परिवारै मर्ने निर्णय गरेको उल्लेख गरेका छन्। ‘यो मलाई आएको प्रारम्भिक रिपोर्ट हो,’ उनले भने, ‘यसको आधिकारिक पुष्टि हुन भने बाँकी छ।’

बपत्ता भएका दुई बच्चाको खोजी भइरहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: