
पोखरा । विश्वकै होचाे व्यक्तिको रुपमा कीर्तिमान बनाएका खगेन्द्र थापा मगरको शुक्रबार निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि बिहिबार पोखराको मणिपाल शिक्षण अस्पतालमा भर्ना भएका उनको शुक्रबार दिउँसो निधन भएको हो ।
खगेन्द्रको निमोनियाका कारण निधन भएको बताइएको छ । २०४९ असोज १८ गते बाग्लुङ धुल्लुवासकोट ६ मा जन्मिएका उनी लामो समयदेखि पोखरामा बस्दै आएका थिए ।
उनको उचाइ २ फिट २ इन्च थियो । उनले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाएका थिए । पछि २०६८ जेठ १२ मा फिलिपिन्सका जुनरी बालाविङले उनको रेकर्ड तोडेका थिए ।
गाउँलेहरू माझ ‘सानो बुद्ध’ भनेर चिनिन्थे । जन्म भएको बेला खगेन्द्र मात्र ६ सय ग्रामका थिए । मे २००८ मा खगेन्द्र ब्रिटिश च्यानेल ४ को मार्क डोलनद्वारा होस्ट गरिएको डकुमेन्ट्री ‘द वर्ल्डस स्मलेस्ट म्यान एन्ड मी’ मा देखिएका थिए ।


