
पोखरा । विश्वकै होचाे व्यक्तिको रुपमा कीर्तिमान बनाएका खगेन्द्र थापा मगरको अन्त्येष्टि गरिएको छ । उनको शनिबार पोखराको रामघाटमा अन्त्येष्टि गरिएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि बिहिबार पोखराको मणिपाल शिक्षण अस्पतालमा भर्ना भएका उनको शुक्रबार दिउँसो निमोनियाका कारण २७ वर्षको उमेरमा निधन भएको थियो। उनको मगर संस्कार अनुसार अन्त्येष्टि गरिएको हो ।
२०४९ असोज १८ गते बाग्लुङ धुल्लुवासकोट-६ मा जन्मिएका उनी लामो समयदेखि पोखरामा बस्दै आएका थिए । खगेन्द्रको उचाइ २ फिट २ इन्च थियो । उनले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाएका थिए ।
पछि २०६८ जेठ १२ मा फिलिपिन्सका जुनरी बालाविङले उनको रेकर्ड तोडेका थिए । खगेन्द्र आफ्ना गाउँलेहरू माझ ‘सानो बुद्ध’ भनेर परिचित थिए। जन्म भएको बेला खगेन्द्र मात्र ६ सय ग्रामका थिए ।
मे २००८ मा खगेन्द्र ब्रिटिश च्यानेल ४ को मार्क डोलनद्वारा होस्ट गरिएको डकुमेन्ट्री ‘द वर्ल्डस स्मलेस्ट म्यान एण्ड मी’ मा देखिएका थिए ।


