
बुटवल– नेपाली कांग्रेस प्रदेश ५ संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ। क्यान्सरका कारण थलिएका ८२ वर्षीय पोखरेलको सोमबार रुपन्देही तिलोत्तमा १४ खैरियास्थित निवासमा निधन भएको हो। फोक्सोमा देखिएको क्यान्सर शरीरका अन्य अंगमा पनि फैलिएपछि विगत एक वर्षदेखि नेता पोखरेल सक्रिय राजनीतिभन्दा टाढा थिए ।
गत माघमा काठमाडौंस्थित हेम्स् अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा पोखरेलको फोक्सोमा क्यान्सर देखिएको थियो । नेपाल क्यान्सर अस्पतालले भारतको राजिव गान्धी अस्पताल लैजान रिफर गरे पनि स्वदेशमै उपचार गर्नुपर्ने भन्दै उनी उपचारका लागि भारत जान मानेका थिएनन् ।
१९९४ साल माघ १९ गते प्युठानमा जन्मिएका कांग्रेसका पूराना नेता पोखरेल कांग्रेको सिफारिशमा समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य बनेका थिए। प्रदेश सभाकै जेष्ठ सदस्य शर्माले प्रदेश सभाका सदस्यहरुलाई जेष्ठ सदस्यको हैसियतमा सपथ ग्रहण गराएका थिए।
शर्माले संस्कृत साहित्यमा मध्यमा गरेका थिए। उनका एक श्रीमती, ४ छोरा र २ छोरी छन्।


