माघ १२ गते सभामुखको निर्वाचन गर्न दलहरु सहमत

Share:

काठमाण्डाै – प्रतिनिधिसभाको सभामुख चयनका लागि माघ १२ गते चुनाव गरिने भएकाे छ ।

कार्यव्यवस्था परामर्श समितिकाे बैठकमा सभामुखको चुनाव १२ गते गर्ने दलहरुबीच सहमति भएको समितिका सदस्य एवम् कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए।

प्रतिनीधि सभाको बैठक साेमबार आजै अपरान्ह ४ बजेका लागि बोलाइएको छ । आजै बस्ने प्रतिनिधि सभाको बैठक ज्येष्ठ सदस्य महन्थ ठाकुरले सञ्चालन गर्ने छन्।

बैठकमा ज्येष्ठ सदस्यले सभामुख चयनको प्रक्रिया थाल्न संसदका महासचिव मनोहर भट्टराईलाई निर्देशन दिएपछि सभामुखको चुनावी प्रक्रिया थाल्ने सचिवालयको तयारी छ । दलहरुले १२ गतेका लागि चुनाव गर्ने सहमति जनाएसँगै सचिवालय त्यही अनुसार तयारी अघि बढाउने छ । सचिवालयले उपसभामुखका लागि भने चुनावी प्रक्रिया साेमबार सुरु नगर्ने भएको छ ।

सचिवालयकी कर्मचारीमाथि यौन दुव्यवहारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १४ गते राजीनामा दिएका थिए। त्यसयता सभामुख पद रिक्त छ। रिक्त सभामुख पदपूर्तिको लागि सत्तारुढ दल नेकपाले नेता अग्निप्रसाद सापकोटालाई अघि सारेको छ।

कांग्रेसले अहिलेसम्म निर्णय गरेको छैन। संविधानमा सभामुख र उपसभामुख एकै दलबाट हुन नपाउने प्रावधान रहे अनुसार नै नेकपाबाटै उपसभामुख बनेकी शिवमाया तुम्बाहाङफेले सोमबार १ बजे आफैंले अध्यक्षता गरेको बैठकमा राजीनामा पत्र पढेर पदबाट राजीनामा दिइसकेकी छन्।

कमेन्ट गर्नुहोस्
Share: